देश/प्रदेश

कर्णाली नदीमा जेसिबी दुर्घटना हुँदा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

By खबरहब

December 13, 2022

काठमाडौँ- कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा २४ मंसिरमा फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीका गोताखोरले फेला पारेका छन् ।

बेपत्ता भएकामध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव २६ मंसिर र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसिबीका चालक मंगल चुडारीको शव २७ मंसिरमा फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीहरूसँगै दुर्घटनामा हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी भइरहेको छ ।

२४ मंसिरमा सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश ३–०१–००३क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना हुँदा जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । दुर्घटनामा अरु तीन जना बेपत्ता भएका थिए ।