फाइल तस्बिर

राजनीति

स्थानीय तहको निर्वाचन समयमै गराउने वातावरण बनाउन दलहरूको सुझाव

By खबरहब

January 14, 2022

काठमाडौँ– राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचन समयमै गराउने पहल गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आज आयोगको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकबाट बाहिरिनेक्रममा कांग्रेस नेता रमेश लेखकले माघ १२ को राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताए ।

छलफलमा विभिन्न दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन्। आयोगले प्रदेश २ का लागि दुईवटा र अन्य प्रदेशका लागि एकएक वटा निर्वाचन क्षेत्र तोकेको छ।

आफूहरुले निर्वाचन केन्द्र थप गर्न माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमणको स्थितिलाई हेर्दा निर्वाचन केन्द्र थप्नुपर्छ। सकेसम्म प्रत्येक जिल्लामा र नभए दुई तीन जिल्लाको बीचमा राखेर जान सकिन्छ भने त्यतातिर सोच्न भनेका छौं’, उनले भने।

यसैबीच आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ ।

आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।

‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ । यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जेठ ५ गतेभित्र निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्ने गरी स्थानीय तहको निर्वाचन गर्न अयोगलाई ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘वैशाख १४ र २२ गते चुनाव गर्ने आयोगको प्रस्तावलाई हामीले समर्थन गरेका छौं, जेठ ५ गते अगावै पदभार सम्हाल्ने गरी चुनाव हुनुपर्छ भनेका छौँ ।’