मुख्य समाचार

सोचे जस्तो अनुशासित छैन चिनियाँ समाज

By मनोज घिमिरे

February 14, 2022

काठमाडौँ– चीनको ग्रामीण भेगमा घाँटीमा साङ्लाले बाँधिएकी मानसिक अवस्था ठिक नभएकी एक महिला फेला परेकी छन् । झोझोउ सहरमा भेटिएकी ती महिलाको जीवन मानव बेचबिखनको घटनासँग सम्बन्धित भएको अधिकारीले जनाएका छन् । उनीसँग सम्बन्ध भएका तीन जनालाई गिरफ्तार गरिएको छ ।

केही समय यसको भिडियो सार्वजनिक भए पछि आम व्यक्तिमा आक्रोश थपिएको थियो । सुरुवाती दिनमा अधिकारीले यसलाई अस्वीकार गरे पनि विभिन्न क्षेत्रको दबाब बढ्न थाले पछि छानबिन सुरु भएको हो । धेरैले अपहरण र बलात्कारको समेत शङ्का गरेका छन् ।

बेइजिङमा जारी शीतकालीन ओलम्पिकका कारण अन्य क्षेत्रमा त्यहाँका धेरै व्यक्तिको चासो छैन । परन्तु, वेइबोमा यो सार्वजनिक भए यता ३ अर्ब भन्दा बढी यसलाई हेरिएको छ ।

घर बाहिर ढोका नभएको गोठमा नै उनलाई बन्दी बनाइएको अवस्थामा फेला पारिएको हो । जाडोले कठ्याङ्ग्राएको अवस्थामा पनि उनको शरीरमा एउटा पातलो कपडा मात्र थियो । चिनिया भ्लगरले यो तस्बिर सार्वजनिक गरे पनि उनलाई अस्पताल लगिएको थियो । अधिकारीका अनुसार उनलाई सिजोफ्रेनिया भएको छ । सिजोफ्रेनिया पागलपन जस्तै एक मानसिक रोग हो ।

चीनको ग्रामीण क्षेत्रमा श्रीमती बनाएर नै बेचबिखन गर्ने प्रचलन बढी रहेको छ । यसैबिच, जनवरी महिनामा नै यो केस पहिलो पटक बाहिर आएको हो ।

आम मानिसलाई चित्त बुझाउनकै लागि त्यहाँका अधिकारीहरूले २८ जनवरीमा दिन ‘ ट्राफिकीङ’लाई अस्वीकार गर्दै ती महिलाले डोङ नामका स्थानीय व्यक्तिसँग विवाह गरेको जनाएका थिए । उनमा स्वास्थ्य समस्या रहेको तथा उनको थर याङ रहेको समेत पत्ता लागेको थियो । चीनमा परिवार नियोजनसँग सम्बन्धित कडा कानुन भए पनि ती महिला आठ बच्चाकी आमा भएको जनाइएको छ ।

सरकारी अधिकारीहरूले ती महिलालाई केही पनि सहयोग नगरेको भन्दै यसले इन्टरनेटमै आक्रोश देख्न थालिएको हो । यसै मङ्गलवार अधिकारीहरूले उनको नाम सार्वजनिक गरेका थिए । दक्षिण पश्चिम प्रान्तकी उनको नाम पनि मङ्गलवार नै पत्ता लागेको हो ।

उनको नामको अर्थ चिनिया भाषामा फुलेको फुल भन्ने अर्थ लाग्छ । धेरैले यो उपनाम हुन सक्ने अनुमान गरेका छन् । अहिले छानबिनमा सक्रिय अधिकारीहरूले त्यस गाउँमा कर्मचारी खटाएका छन् । विवाह दर्ता गर्दा वास्तविक नाम उल्लेख भएको हुन सक्ने भएकाले त्यसका लागि खटाइएको जनाइएको छ ।

स्थानीय क्षेत्रमा गरिएको अनुसन्धान अनुसार सन् १९९६ मा सम्बन्ध विच्छेद गरेर घर फर्किएकी उनमा त्यस पछि मानसिक समस्या देखिएको हो । यस भन्दा पहिले उनको वैवाहिक जीवन सामान्य भएको जनाइन्छ ।

धेरै पहिले नै आमा बाबु गुमाएकी उनलाई गाउँकै अर्की साङ भन्ने व्यक्तिले जीयाङ सु प्रान्तमा उपचार गर्न र श्रीमानको खोजी गर्न भनेर लगेकी थिइन् । धेरै इन्टरनेट प्रयोगकर्ताकै अनुसार अपहरणको यो एउटा नयाँ शैली पनि हुन सक्छ । बिहीबार नै चिनिया अधिकारीले साङ र ती महिलाका श्रीमानलाई महिला बेचबिखनको आरोप लगाएको छ ।

साङले ती महिलासँग आफूले क्रस कन्ट्री रेलमा यात्रा गरे पनि जीयाङसु पुग्दा आफ्ना साथी हराइसकेको बताएकी छिन् । अधिकारीकै अनुसार साङले यसको बारेमा न त अभिभावकलाई जानकारी दिइन् । न त प्रहरीलाई यसको बारेमा खबर गरेकी थिइन् । ती महिलाको श्रीमान् भनिएका पुरुषलाई बन्दी बनाएको आरोप पनि लगाइएको छ ।

यस घटनालाई हेर्नेहरू पछिल्लो अपडेटले केही खुसी पनि छन् । त्यो अपडेटसँगै ती महिलाले न्याय पाउने आशा पनि जगाएको छ । तर, उनीहरू विश्वस्त हुन सकिरहेका छैनन्। उनीहरूलाई अधिकारीहरू प्रति शङ्का पनि छ ।

धेरैले अहिले जनदबाब पछि मात्र छानबिन सुरु गर्नु र सबै कुरा प्रस्टसँग बाहिर ल्याउनु नसक्नु नै शङ्काको कारण भएको जनाउँदै आएका छन् । धेरैले आठ सन्तान जन्माएकी ती महिलालाई उनका पतिले गरेको हरकतका बारे कुनै अभियोग नलाइनु खराब भएको भन्दै विमति राखेका छन् ।

आठ सन्तान जन्माउनु नै यौन हरकतको पराकाष्ठा भएको भन्दै अझै उनका श्रीमान् प्रतिको आक्रोश थपिएको छ । केहीलाई उनको वास्तविक परिचय त लुकाइएको छैन ? भन्ने कुरामा पनि शङ्का लागेको छ ।

अहिले चीनमा मानव बेचबिखनको मुद्दा पेचिलो बनेको छ । चीनको ग्रामीण क्षेत्रमा यो मुद्दा अझ बढी उठ्न थालेको छ । त्यहाँ अन्य धेरै यस्तै प्रकरण भएको तथा धेरै जना हराइरहेको हुन सक्ने कुरामा स्थानीयमा शङ्का उत्पन्न थालेको छ । यसमा अधिकारीको कुनै चासो नभएको कुरामा पनि त्यहाँ आक्रोश बढेको छ ।

यो घटनाले चीनमा धेरै सामान्य महिलाको जीवन नै जोखिममा परेको सङ्केत गरेको छ । वेइबोको एक प्रयोगकर्ताले लेखेकी छिन्,‘ मैले शान्त बसेर यो घटनालाई हेरि रहेको छु । म पनि एक सामान्य व्यक्ति हुँ । ती महिलाको उद्धार हुने र दोषी माथि कारबाही हुने कुरामा मैले आशा गरेको छु ।’

सन् २०१९ मै चीनको मानव बेचबिखनको घटनाका बारे केही तथ्य सार्वजनिक भएको थियो । त्यसै तथ्य अनुसार त्यहाँ यस समस्याले १७ प्रतिसतलाई प्रत्यक्ष र या अप्रत्यक्ष प्रभाव पारेको छ । त्यहाँको यकिन तथ्याङ्क सार्वजनिक छैन । तर, ठुलो देश भएका कारण त्यहाँको महिलालाई एक स्थानबाट अर्को स्थानमा लैजाने गरिन्छ ।

सन् २०१९ कै तथ्य अनुसार त्यहाँको नीतिले छोरालाई प्राथमिकता दिए पछि महिला र पुरुषको बिचको अनुपात मिलेको छैन । त्यहाँ ११८ पुरुष बराबर १०० महिला रहेका छन् । यसको असर विदेशबाट त्यहाँ पुग्ने महिलामा पर्ने गरेको छ । अध्ययन अनुसार विदेशबाट चीन पुग्ने महिलालाई विवाह गर्न तथा वेश्यावृत्तिमा सरिक हुन दबाब दिइन्छ ।

चीनकै दक्षिणको देश म्यानमारबाट सबैभन्दा धेरै महिला त्यहाँ लगिन्छन् । त्यसै समयको रिपोर्ट अनुसार एक महिलालाई ३ हजार देखि १३ हजार अमेरिकी डलरसम्ममा बेच्ने गरिएको थियो ।

सन् २०१६ मा चिनिया मिनिस्ट्री फर पब्लिक सेक्युरिटीका अनुसार ४६४ जनालाई असक्त व्यक्तिलाई पनि ‘ लेबर ट्राफिकीङ’मा संलग्न भएको कारणमा गिरफ्तार गरिएको जनाएको थियो । चीनमा विना शुल्क अङ्ग दान गर्न वैध मानिएको छ । मानव अङ्ग बेचबिखन त्यहाँ बन्देज गरिएको छ ।

कानुनमा यो कुरा उल्लेख भए पनि लुकीछिपी अङ्ग बेचबिखन चीनमा पनि हुने गरेको छ । चीनको आधिकारिक तथ्याङ्क अनुसार बर्सेनि १० हजार अङ्ग प्रत्यारोपण हुने उल्लेख भए पनि यथार्थमा यो सङ्ख्या ८० हजार सम्म हुन सक्ने आङ्कलन गरिएको छ ।

केही वर्ष अघि अगाडी अमेरिकी स्टेट डिपार्टमेन्टले मानव बेचबिखनको सवालमा चीनलाई‘ टायर थ्री ’ को कोटीमा राखेको थियो । टायर थ्रीको मतलब मानव बेचबिखन रोक्न पर्याप्त कदम नचाल्ने देश हो । चीनलाई पनि यसैमा समावेश गरिएको थियो ।

चीन लगायत संसारका अन्य सबै देशमा मानव बेचबिखन कम गर्ने अभियानमा धेरै संस्था सक्रिय छन् । युनाइटेड नेसन एक्सन फर को अपरेसन एग्नीस्ट ट्राफिकीङ इन पर्सन (युएन–एक्ट) यसै मध्यको एक हो । सन् २०२० मा पनि यस संस्थाले सीमा क्षेत्रमा ध्यान दिने लगायत धेरै काम गरेको थियो ।

संसारमै र चीनमा पनि मानव बेचबिखनलाई कम गर्न केही महिला संस्था सक्रिय छन् । यसै गरी, इक्वीलीटी नाउ भन्ने संस्था पनि त्यहाँ सक्रिय छ । केही संस्थाको प्रयास त जारी छ । तथापि, चीनमा विशाल भूगोल भएका कारण त्यहाँ हुने गरेका धेरै कुरा बाहिर आउने गरेका छैनन् । त्यही भित्र नै सामसुम पर्ने गरिन्छ । अनुशासनको अनुमान गरिएको चिनिया समाज भित्रको यथार्थको रूपमा मानव बेचबिखनको डरलाग्दो जालो पनि छ । एजेन्सीहरूको सहयोगमा