तस्वीर- ट्विटर/युक्रेनी रक्षामन्त्रालय

अन्तर्राष्ट्रिय

घाइते सैनिकलाई भेट्न अस्पताल पुगेका जेलेन्स्कीले सेल्फी पनि खिचाए

By खबरहब

March 14, 2022

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा घाइते भएका सैनिक भेट्न अस्पतालको भ्रमण गरेका छन् । युक्रेनको रक्षामन्त्रालयले जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेको जनाएको हो ।

यद्यपि उनले भ्रमण गरेको अस्पतालको पहिचान भने गोप्य राखिएको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति जेलेन्स्कीले उपचार गराइरहेका सैनिकहरुसमक्ष पुगी उनीहरुको गुनासो र अवस्थाबारे जानकारी लिएको देखिन्छ । जेलेन्स्कीले घाइते सैनिकलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।

केही घाइते सैनिकले उनीसँग सेल्फी पनि खिचिरहेको भिडियोमा देखिन्छ । साथै भ्रमणका क्रममा जेलेन्स्कीले सैनिक एवम् अस्पतालका कर्मचारी तथा चिकित्सकलाई तक्मा र विभूषण समेत प्रदान गरेको जनाइएको छ ।

सैनिकहरुलाई उनले ‘युक्रेनको रक्षक’ विभूषण प्रदान गरेको अमेरिकी अनलाइन समाचार पोर्टल एक्सिओसले जनाएको छ । रुसी आक्रमणसँगै युक्रेनभर भिषण लडाईं भइरहेका बेला जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेका हुन् ।

(एक्सिओस र बीबीसीबाट)