तस्वीर- एपी

अन्तर्राष्ट्रिय

आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे

By खबरहब

March 14, 2022

काठमाडौं- आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् ।

‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ ।

अमेरिकाले केही महत्वपूर्ण विषयमा निर्णय गर्न बाँकी रहेकाले यो भ्रमणका क्रममा कुनै किसिमको सम्झौता घोषणा नगरिने उनको भनाइ छ । यसअघि रुसले अहिले आफ्नो मुलुकमाथि पश्चिमा मुलुकद्वारा लगाइएका नाकाबन्दीको असर इरानसँग हुने सम्झौतामा पर्न नहुने ग्यारेन्टी मागेको थियो ।

अष्ट्रियाको राजधानी भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए । तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो।

(रासस र द नेशन्सबाट)