तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

ओबामालाई कोरोना संक्रमण

By खबरहब

March 14, 2022

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राष्ट्रपति ओबामाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् ।

‘मेरो टेस्टमा भर्खरै कोरोना पोजेटिभ देखियो ।’ उनको ट्विटमा उल्लेख छ, ‘केही दिन देखि घाँटी दुखिरहेको थियो, तैपनि म तन्दुरुस्त नै छु ।’

पूर्व प्रथम महिला मिसेल ओबामा र आफू दुवैले कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइसकेको उल्लेख गर्दै ओबामाले अरुलाई पनि खोप लगाउन आह्वान गरे ।

पछिल्लो समय कोरोना संक्रमण घट्दै जाँदा अमेरिकामा जनस्वास्थ्य मापदण्डहरू पनि विस्तारै खुकुलो पारिँदै लगिएका छन् । पछिल्लो साता औसतमा ३५ हजार नयाँ संक्रमित देखिएका थिए । जोन्स होप्किन्स विश्वविद्यालयको आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ९ लाख ६७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, अमेरिकाको संघीय रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार ७५ प्रतिशत भन्दा धेरै अमेरिकीहरूले पूर्ण खोपको मात्रा पाएका छन् भने ४७ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

(एपीबाट)