समाचार

भारतको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी परियोजनाको उद्घाटन

By खबरहब

March 14, 2022

काठमाडौँ– भारत सरकारको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजना सञ्चालनमा आएको छ ।

भारतको सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा खानेपानी आपूर्ति परियोजना निर्माण गरिएको हो ।

परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारीलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यो परियोजनामा निर्माण गरिएको हो ।

यो परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार, विद्यालय, अस्पताल, सरकारी कार्यालय र पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।