पर्यटन

‘घरबाट क्रान्ति गरेर सगरमाथाको शिखरमा पाइला टेकेकी हुँ’

By पासाङ लामा ह्योल्मो

April 14, 2022

काठमाडौ – पितृसत्तात्मक सोचले ग्रसित नेपाली समाजमा अहिले पनि महिलाहरूलाई गृहिणीको रूपमा मात्रै हेरिन्छ । गृहिणीबाहेक अन्य कामलाई सहजै स्वीकारेको पाइँदैन । महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउनु पर्छ भनेर ठूल्ठूला गफ दिइन्छ । सहभागिता र अधिकारका विषय जोडदार रूपले उठ्छ । तर, व्यवहारमा लागू हुन सकेको छैन । तर, यति हुँदाहुँदै पनि साहसी महिलाहरू घेरा तोडेर बाहिर निस्किन्छन् । मुर्छित सपनालाई ब्युँताउँदै घरबाट क्रान्ति गरेर निस्किने साहसी महिलामध्येकै एक हुन् पर्वतारोही शर्मिला लामा ।

उनी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित भिमखोरीमा जन्मिइन्। सानै उमेरदेखि हिमाल चड्ने सपना बोकेकी उनले अहिलेसम्म विश्वका सर्वोच्च शिखर सगरमाथासहित ७ वटा हिमाल आरोहण गरिसकेकी छिन् । विभिन्न घरयासी समस्या र बाधाबीच पनि संघर्ष गरी उनी निरन्तर पर्वत आरोहण गर्ने कार्यमा लागिरहेकी छिन् ।

नेपाली समाजमा विद्यमान कुरिती र विकृति अन्त्यको लागि महिलाको आवजहरू हिमालबाट नै उठाउनु पर्छ भन्ने सोचका साथ उनी ‘१४ हिमाल आरोहण’मा लागि रहेकी छिन् । हिमालसँग सामिप्यता गाँसिएर आफ्नो जिन्दगी नै हिमाल रहेको उनी बताउछिन् । उनी सन् २०२१ मा तेन्जिङ हिलारी सम्मानबाट पनि सम्मानीत भएकी थिइन् । पर्वत आरोहण बाहेक विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न उनी नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन् । जीवनका हरेक मोडमा नयाँ उद्धेश्य बोेकेर दत्तचित्त भई लाग्ने आरोही लामाका बाँकी अनुभवको आरोह र अवरोह उनकै शब्दमाः

हिमाल चड्ने सानैदेखिको सपना म एउटा पर्वत आरोहीको रूपमा चिन्नुमा मेरो बुबाको महत्वपूर्ण भूमिका छ । मेरो बुबा ट्रेकिङ गाईडको रूपमा काम गर्नुहुन्थ्यो । उहाँ घरमा आउँदा सानै सानै बेलादेखि हामीलाई यात्राका अनुभवहरू सुनाउनु हुन्थ्यो ।

बुबाका अनुभवहरू सुन्दा सानैबेला ट्रेकिङमा जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । उहाँबाट नै प्रेरित भएर म १७ वर्षको उमेरमा ट्रेकिङ जान सुरु गरेको हो । यसैगरी सन् २०१७ मा दोलखाको रामजुङ पिकबाट मेरो हिमाल चड्ने यात्राको सुरुवात भयो ।

सगरमाथाको सफल आरोहण सन् २०१८ मा सगरमाथा आरोहण गर्ने मेरो पहिलो यात्राको सुरुवात भयो । प्रतिकुल मौसमका कारण आठ हजार सात सय मिटर उचाईबाट नै फर्किनु पर्‍यो । जसले गर्दा सगरमाथाको चुचरोको अनुभव लिन सकिएन । सफल आरोहीहरू जत्तिकै संघर्ष गरी त्यस उचाइसम्म पुग्नु नै मेरो लागि सफलता थियो । तर पहिलो पटकको आरोहणमा सगरमाथाको चुचुराको अनुभव गर्न नपाएपछि धेरै पीडा भयो ।

त्यसपश्चात १ वर्षको अवधि भित्रमा कुनैपनि रात आनन्दले सुतिनँ । आर्थिक रूपमा पनि धेरै समस्याहरू थपिए । यस अवधिमा विभिन्न तालिम, शारीरिक स्वस्थ्य र आर्थिक स्रोतहरू जुटाउनमा व्यस्त भए । यस्तै कडा मेहनत पश्चात सन् २०१९ मा सगरमाथाको सफल आरोहण गर्न सकेँ। त्यसलगत्तै युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्बस, नेपालको मनास्लु, अन्नपूर्ण, ल्होत्से हिमाल पनि सफलता पूर्वक आरोहण गरेँ ।

‘मिसन १४ हिमाल आरोहण’को सुरुवात सन् २०१९ मा यूरोपको अग्लो हिमाल चढेलगत्तै म काठमाडौँमा फर्केँ । फर्केको नौ दिनमा नै मनास्लु हिमाल चढेँ। यसपछि मात्रै मैले म हिमाल आरोहण गर्नका लागि योग्य छु भन्ने महशुुस गरेँ । ‘नेपाली समाजमा रहेको कुरिती र विकृति अन्त्यको लागि नेपाली महिलाको आवजहरू हिमालबाट नै उठाउनु पर्छ’ भन्ने सोच लिएँ ।

यसपछि मैले गुगलमा विश्वमा सफतापूर्वक आठ हजारभन्दा मथि उचाइमा रहेको १४ हिमाल आरोहण गरेका महिलाहरूको खोजी गरेँ । १४ हिमाल आरोहण गर्र्ने महिलामा स्पेन र अस्ट्रेलियाको दुई जना महिला मात्रै भेटेँ । त्यसपछि मैले पनि १४ हिमाल आरोहण गर्ने उद्देश्य बोकी क्याम्पेन सुरु गरेँ ।

अभियानबाट महिलाहरू प्रोत्साहित हुने र नेपालको प्राकतिक स्रोतहरूलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने विश्वास लिएकी छु । यसको प्रभाव कत्तिको पर्छ, मैले कत्तिको गर्न सक्छु भन्ने कुरा आर्थिक स्रोतमा पनि धेरै भर पर्छ । आर्थिक स्रोत पाएँ भने चाँडै नै गर्न सक्छु भन्ने विश्वास छ ।

‘१४ हिमाल आरोहण’का लागि आर्थिक चुनौती आठ हजार मिटरभन्दा माथिका हिमालहरू पाकिस्तानमा पाँच वटा र चीनमा दुई वटा रहेका छन् । यो सात वटा हिमालका लागि खर्च अवश्य नै धेरै लाग्छ । नेपालको हिमाल चढ्नलाई बाह्रा लाखदेखि पन्ध्र लाखसम्म लाग्छ । गत वर्ष अन्नपूर्ण आरोहण गर्दा एक जना दिदीलगायत केही व्यत्तिले आर्थिक सहयोग गर्नुभएको थियो ।

त्यसैगरी ल्होत्सेका लागि साथी भाइ आफन्तजनबाट सहयोग भएको थियो । यसै गरी कञ्चनजंग हिमाल आरोहणको तयारीमा छु । यसको लागि तीन वटा स्थानीय सरकारले पाँच लाख पचास हजार रूपैयाँ सहयोग गर्नुभएको छ । बाँकी आफैले आर्थिक स्रोतहरू जुटाइरहेको छुु र केही कम्पनी संस्थाहरूले पनि सहयोग गरेको छ । तर स्रोत जुटाउन भने निकै गाह्रो भइरहेको छ ।

दुई वर्षअगाडि नै प्रदेश सरकार समक्ष कुरा राखेको थिएँ । राजनीतिक पहुँच नहुँदा हामी जस्तो ईमानदारीपूर्वक काम गर्नेलाई धेरै बाधाहरू रहेको देखेँ । कुनै माध्यमहरूबाट पहुँच पुराएर गए पनि पर्यटन सम्बन्धीको विषयमा सांसद, मन्त्रीहरूले समेत बुझेको पाइएन । ‘हिमाल चढेर पनि पर्यटन प्रर्वद्धन हुन्छ र ?’ भन्ने खालका प्रश्नहरू गर्नुहुन्छ । हिमालबाट लाखौ डलर रोयल्टीको नाममा नेपालमा आम्दानीको रूपमा आएको कुरा नबुुझ्दा दुःख लाग्छ ।

सामाजिक कार्यमा आबद्ध म आफ्नो दैनिकी चलाउन कफी सप चलाउँदै आएको छु । गत वर्ष महिला दिवसको अवसरमा दश जना महिलाहरूलाई बारिष्ठको तालिम दिएँ । साथै तेन्जिङ हिलारी अवार्डबाट पाएको पैसाले पनि सात जना महिलाहरूलाई बारिष्ठ तालिमसँगै रोजगार पनि दिएँ ।

यससँगै आफ्नै गाँउमा महिलाहरूलाई आधारभुत बौद्ध शिक्षा कक्षा सञ्चालन गरेको छु । हाम्रा नेपाली युवाहरूको आफू स्थापित भएपछि मात्रै समाजसेवा लाग्छु भन्ने खालको सोच छन् । तर म आफ्नो आरोहण, करियर, विजनेस सँगसगै समाज सेवालाई सन्तुलनमा राखेर अघि बढिरहेकी छु ।

‘चुनौति र असफलता नै सफलतामा पुर्‍याउने भर्‍याङ हो’ हाम्रो समाज पुस्तौँदेखि नै पितृसत्तात्मक सोच भएको समाज हो । जसले गर्दा पुरुषको दाँजोमा महिलालाई बढी चुनौती छ । बाँधा अड्चनहरू सबौलाई आँउछन् । हामीले गर्न चाहेका कुरामा पहिलो त घरबाट नै अवरोध आउने गर्छन् । यो गर, त्यो नगर भन्ने खालका बन्देज गराउँछ ।

मैले हिमाल आरोहण गर्न घरबाट नै क्रान्ति गरेको निस्केको हुँ । म भित्रको म खोज्दै जाँदा हिमालतिर ठोक्किन पुगेको हो । ईमानदारीका साथ काम गर्न नै चाहनुहुन्छ भने आफ्नो मनको कुरा सुन्नुपर्छ ।

आफन्त, समाजका कुरालाई थाँती राख्दै आफ्नो मनले भनेको कुरालाई निरन्तरता दिनुपर्छ । चुनौती र असफलताले नै सफलताको बाटो देखाउँछ । दृढ भई आफ्नो कर्ममा विश्वास गरेर निरन्तर लाग्नु पर्छ । अवश्य सफल भइन्छ ।