मनोरञ्जन

सेलेब्स रिभ्यु : ‘ए मेरो हजुर ४’ हाम्रोसँगै राम्रो फिल्म हो

By खबरहब

April 14, 2022

काठमाडौँ – रिलिजको पूर्व सन्ध्यामा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को प्रिमियर गरिएको छ ।

बुधबार काठमाडौँको बिग मुभिजमा गरिएको प्रिमियरमा नेपाली फिल्मकर्मी र सञ्चारकर्मीको राम्रो भिडभाड रहेको थियो । अनमोल केसी , सुहाना थापा , सलोन बस्नेत , सरोज खनाल लगायतको अभिनय रहेको प्रेम कथामा आधारित फिल्मलाई सेलेब्सले रुचाएका छन् । उनीहरुले फिल्म हेरिसकेपछि मिडियालाई मात्र प्रतिकिया दिएका छैनन् । सोसल मिडियामा पनि फिल्म बारे बोलिरहेका छन् । यो फिल्म नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि प्रदर्शनरत छ ।

प्रिमियरमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक र पत्रकार उपस्थित थिए । कलाकारहरु नीर शाह, भुवन केसी, सरोज खनाल, रविन्द्र खड्का, रवि गिरी, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, स्वस्तिमा खड्का, दयाहाङ राई , रविन्द्र झा, निर्मल शर्मा, निता ढुंगाना, हरिहर अधिकारी, आश्मा विश्वकर्मा, सरोज अधिकारी लगायत कलाकारहरुको उपस्थिति थियो । यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, र्‍यापर बालेन शाह पनि प्रिमियरमा उपस्थित थिए ।

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ हेरेपछि अनमोलको भूमिकालाई रुचाइएको छ । अनमोलले अभिनयमा पनि सुन्दरता थपेको प्रतिक्रिया मिलिरहेको छ । यस्तै , सुहानाले निर्वाह गरेको भूमिकालाई जीवन्त बनाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।’अनमोलको अभिनयमा अझै निखारता आएको छ भने सुहाना राइजिङ स्टार नै हुन्’ अधिकांसको प्रतिक्रिया यस्तै छ ।

‘अघिल्लो सिरिज भन्दा यो राम्रो छ । कथाले मन छोयो’ अभिनेता हरिहर अधिकारीले फिल्म हेरेपछि प्रतिक्रिया दिए । सँगै रहेकी अभिनेत्री निता ढुंगानाले पनि फिल्ममा कलाकारले राम्रो अभिनय गरेको प्रतिक्रिया दिइन् ।’मलाइ कथा, छायांकन निकै मन पर्‍यो । अनमोलले अभिनयमा निकै निखारता ल्याएका छन् । अनमोल पपुलर आर्टिस्टबाट राम्रो अभिनेता बनेका छन्” निताले भनिन् । उनीहरुले फिल्म हलसम्म आएर हेर्न आग्रह गरे ।

स्वस्तिमा खड्काले पनि आफूलाई फिल्मले छोएको बताइन् ।’फिल्मको कथाले मलाइ छोयो । अघिल्लो सिरिज भन्दा राम्रो बनेकोमा कुनै शंका छैन । यो हाम्रोसँगै राम्रो फिल्म हो” स्वस्तिमाले भनिन् । स्वस्तिमाकै कुरामा सहमत भइन , केकी पनि ।’यो राम्रो नेपाली फिल्म हो , त्यसैले हलसम्म आउँदा समय खेर जाँदैन। अनि कलाकारको अभिनयले हामीलाई पात्र महसूस गराउँछ” केकीले भनिन् ।

फिल्मले मन छोएको प्रतिक्रिया दिइन्, करिश्मा मानन्धरले । उनले फिल्मको कलाकारले पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दिइन् ।’झरनाले कलाकारको भाव मार्फत फिल्मको दृश्यलाई तयार गर्छिन् । फिल्म हेर्दा मेरो आँखा रसाए” उनले भनिन् । निर्माता अशोक शर्माले ए मेरो हजुर ४ ले विदेशी फिल्मलाई टक्कर दिन सक्ने बताए ।

‘नेपाली फिल्मको मेकिङ्गसँगै कथा भन्ने शैलीमा पनि निखारता आएको छ । यो फिल्म आफैँमा बलियो छ’ अशोकले भने । उनीसँगै रहेका उनका छोरा अंकित शर्माले पनि यो फिल्मले युवालाई निराश नबनाउने प्रतिक्रिया दिए । यस्तै, अनमोल केसीले पाइरहेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । ‘मैंले पाएको प्रतिक्रियाले उत्साहित छु। दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास बढेको छ अनमोलले भने ।