विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले एकाएक सबै क्षेत्र ठप्प गर्यो। विश्वका ठूल्ठूला सिनेमा उद्योगमा पनि यसको प्रत्यक्ष प्रभाव पर्यो।
तुलनात्मक रुपमा यसको असर मनोरञ्जन क्षेत्रमा पनि पर्यो। लकडाउनको पहिलो चरणमै सबैभन्दा पहिले बन्द गरिने क्षेत्रमा चलचित्र उद्योग नै पर्यो । र, अन्तिममा खुल्ने पनि सिनेमा हल नै भए ।
लामो समय हल बन्द हुँदा समग्र सिनेमा क्षेत्रलाई तङ्ग्रिन नै समय लाग्यो । अर्कातिर लकडाउनपछि नेपाली सिनेमा आफ्ना सीमित दर्शक पनि गुमाउँदै गयो । कारण थियो, विदेशी सिनेमाको बढ्दो क्रेज ।
फिल्म हेर्न समय निकालेर हलसम्म पुग्ने दर्शक आफ्नो समयानुकूल ओटीटीमा विदेशी सिनेमा हेर्न थाले । दर्शकको बानीसँगै टेस्ट पनि फेरियो । ओटीटीमा विश्वका चर्चित फिल्म हेरेका दर्शकलाई परम्परागत फिल्महरु खल्लो लाग्न थाले । दर्शकका रोजाइमा नयाँ सोच र कन्टेन पर्न थाले ।
ओटीटीमा संसारभर ख्याति कमाएका मनी हेइस्ट, स्क्विड गेम्स, कोटा फ्याक्ट्री लगायतका सिरिजले नेपाली दर्शकलाई अर्कै दुनियाँमा पुर्याएका थिए । त्यसैले नेपाली सिनेमाको घरेलु स्वादलाई उनीहरुले सहजै स्वीकार गर्न सकेका छैनन् ।
दर्शकको टेस्ट फेरिएसँगै लकडाउनका कारण तयार फिल्मलाई असर गर्यो। पुरानो शैली र फर्मुला रहेका सिनेमाहरु दर्शकको रोजाइमा परेनन् । फलतः अधिकांस सिनेमाले ‘फ्लप’ को ट्याग पाए ।
लकडाउनको समयमा प्रयोग भएका ओटीटीका प्लेटफर्महरु वा सिफारिस भएका सिनेमाहरुले दर्शकको चेतनाको स्तर बढाएको मान्न सकिन्छ । सिनेमाभन्दा वेब सिरिजमा पाइने कन्टेनमा दर्शक लोभिए । तर, ती सबै विदेशी थिए । नेपालमा रुचाइएका अधिकांस सिरिजहरु विदेशी थिए । किनकि नेपालमा रहेको ओटीटीमा नत कन्टेन नै थिए न त दर्शक नै । लकडाउनपछि दशैँको बेला हल खुल्ने भएपछि नेपाली ठूला फिल्म रिलिज भएनन् ।
दर्शकले हेर्न चाहेको फिल्म रिलिज नहुनु नै नेपाली फिल्मका लागि दुःखद रह्यो । नेपालमा चर्चा कमाएका ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेम गीत ३’ र ‘ए मेरो हजुर ४’ रिलिज नहुँदा हलमा पुरानै फिल्म प्रदर्शन भए । ती फिल्म हेर्न हलसम्म दर्शक आएनन् । विदेशी फिल्म पनि ओटीटीमा आइसकेको हुँदा हलमा आएका फिल्महरुले खासै दर्शक पाएनन् । र, सबैको आँखा भारतीय फिल्म ‘सूर्यवंशी’ मा रह्यो । अक्षय कुमार अभिनीत तथा रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ ले गर्ने व्यापारको आँकडापछि मात्र नेपाली फिल्म दर्शकसम्म पुर्याउने चाहनाले निर्माता त केही मुनाफामा भए होलान् तर दर्शकले हिन्दी स्वाद बढी चाखे ।
सूर्यवंशी र त्यसलगतै आएको पुष्पाले दर्शकको मन जित्यो । फिल्मको डायलग र स्टाइललाई दर्शकले अपनाए । फलतः हलमा दर्शक आउँछन् भन्ने त भयो । तर, सँगै विदेशी फिल्मले दर्शकलाई आफ्नो प्रभावमा पनि पार्यो।
लकडाउनमा विदेशी कन्टेनमा रमाएका दर्शकलाई हल खुल्ने वित्तिकै उपलब्ध विदेशी फिल्महरुले पारखी झैँ बनायो । त्यसपछिको अवस्था त अवगत नै छ । विदेशी फिल्मको परीक्षण अनुसार दर्शक हलसम्म आउने वा नआउने तय गर्नु नै नेपाली फिल्मका दर्शक केही घटाउने मानक मान्न सकिन्छ । आधा शताब्दीको नेपाली फिल्म इतिहासमा अहिले भोग्नुपरेको संकट झट्टै आएको होइन ।
यसका लागि हामी नबुझिँदो रुपमा पहिलेदेखि नै जिम्मेवार छौँ । संकटको प्रादुर्भाव भइसकेको र यसलाई ‘खतराको घण्टी’ का रुपमा बुझ्नुपर्ने स्थिति आउनुमा बलिउड झैँ नेपाली फिल्म पनि कथित स्टारडम र क्लिसे कथालाई पछ्याउँदै अघि बढ्नु कारण रहेका छन् । दर्शकको चेतनाको स्तर बढ्दा पनि मेकिङ शैलीलाई ‘अपग्रेड’ गर्न नसक्नु नै नेपाली फिल्मका लागि ठूलो हानी देखिएको छ । विश्व फिल्म बजारमा साउथ इन्डियन फिल्महरु ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा, ‘आरआरआर’ मात्र चर्चामा छैनन् । मलयालम फिल्महरु ‘दृश्यम’ र ‘जलीकट्टु’ पनि चर्चामा छन ।
छिमेकी मुलुक भुटानमा हाम्रै बजेटको हाराहारीमा निर्मित फिल्म ‘लुनाना : अ याक इन द क्लास रुम’ ओस्कारसम्म पुग्यो । तर, नेपाली फिल्मको अधिकांस संख्या पुरातनवादी शैलीमै निर्माण भइरहेकोमा गनियो । ओटीटीबाट हलसम्म आएका दर्शकले विषयवस्तुमा नयाँपन नपाएपछि समय र पैसा त्यसै खेर फाल्न चाहेनन् । हुन् त दर्शकको साथले नै यतिबेला साउथ इन्डियन फिल्महरु विश्वभर पुगिसकेका छन् । ‘रोबोट’, ‘बाहुबली, ‘केजिएफ’ बन्दा नभएको चर्चा यसको सिक्वेलमा भयो ।
फिल्मको बजेट पनि पाँच सय करोडको हाराहारीमा रह्यो । यो सबै सम्भव हुनुको कारण दर्शकको साथ र मेकर्सको इमान्दारिता नै हो । साउथ इन्डियन फिल्महरुले मेकिङ बढाएको धेरै भएको छैन । तर, कथ्य शैली, दृश्य भाषामा उनीहरुको मेहनत हालै गरिएको होइन । आफ्नो मौलिक भाषा बाहेक फिल्मी दर्शक रहेका भाषामा फिल्म ल्याउन सक्नु नै उनीहरुको सफलताको प्रमुख मानक हो । त्यसैले गर्दा अहिले साउथ इन्डियन फिल्महरुले बलिउडलाई ‘डोमिनेट’ गरेर विश्व सिनेमा बजारमा आफ्नो छुटै स्थान बनाइसकेको छ ।
केही समय अगाडि बलिउड अभिनेता सलमान खानले ‘हाम्रो फिल्म किन साउथमा चल्दैनन् ?’ भनेर प्रश्न गर्नुले बलिउडको स्थान कहाँ छ भन्ने प्रष्ट पारेको छ । नेपाली बजारको कुरा गर्ने हो भने ‘क्लिसे’ कथा, दृश्य भाषा, मेकिङ शैलीलाई दर्शकले ‘इग्नोर’ गरिरहेका छन् । यसै वर्ष प्रदर्शन भएका फिल्महरुमा दर्शकको सुरुवाती उपस्थिति राम्रै भएको हो । तर, दर्शक निराश हुँदा त्यसको असर ठूलो समयसम्म नेपाली फिल्मले भोग्नु पर्ने हुन्छ ।
पछिल्लो समय प्रदर्शनमा आएको ‘चिसो एष्ट्रे’ फरक देखियो । यसमा चरित्र निभाउने अनुहारहरुले स्टारडमको ट्याग पाएका थिएनन्, दृश्य भाषामा नवीनता थियो । यद्यपि दर्शकले विश्वास गरि दिएनन् । फिल्मले पाएको समीक्षालाई अन्य फिल्म झैँ सामान्य सोच्दाको परिणाम चिसो एष्ट्रेमा पनि देखियो । नेपाली अधिकांश फिल्मले प्रिमियरबाट पाउने समीक्षा र दर्शक हल पुगेर फिल्म हेर्दा बन्ने धारणा फरक हुँदाको असर अहिले सिनेमामा देखिन थालेको छ । अब कि दर्शक इनिसियल मानसिकताको आधारमा हलमा पुग्ने योजनामा छन् । कि विश्वासिलो साथीको सिफारिसपछि मात्र हलमा पुग्ने अवस्थामा छन् । अब दर्शक ‘फिल्म राम्रो छ’ भन्ने सुनेकै भरमा हलसम्म पुग्ने वाला छैनन् ।
पछिल्लो वर्षयता चिनियाँ भिडियो साझेदारी एप टिकटकको प्रभुत्व नेपालमा दमदार देखियो । गीतलाई ब्लकबस्टर बनाउने वा फ्लप, यसको सूचक टिकटक बन्यो । यहाँ देखिने नेपाली फिल्मका कलाकार र उनले गर्ने अभिनयले दर्शक त तानिए ।
कलाकारहरुले पाउने भ्युज र फ्लोअर्स बढे तर त्यो सोसल मिडियामा मात्र । त्यो हलसम्म आइदिने बनेनन् । टिकटकमा अभिनय देखाइ रहने कलाकारहरुको कलाकारिता त्यहीं हेर्न चाहे दर्शकले । यस्तै विविध कारण छन्, जसले लोकप्रियतालाई सस्तो बनायो ।
यसको असर फिल्ममा प्रारम्भिक रुपमा देखिन थालेको छ । आउँदो वर्षमा कथ्य शैलीसँगै फिल्म हेर्न हलसम्म आइपुगेका दर्शकलाई रिझाउन नसक्ने हो भने ती पनि गुम्ने डर छ । कोरोना भाइरसको कारण विश्व बजारमा रोकिएका फिल्महरु आउने केही समयसम्म दर्शक माझ आइरहने छन् ।
नेपाली बजारमा भारतीय फिल्म अन्तर्गत बलिउड र साउथ इन्डिया बनेका फिल्महरु र हलिउडका फिल्महरु असर गर्ने छन् । यी हलमा आउने फिल्महरुसँगै ओटीटीमा सहजै आफ्नो समयानुकूल हेर्न पाइने कन्टेन पनि अवरोध बन्नेछ ।
नेपाली सिनेमालाई यस्तो प्रतिस्पर्धा सहज भने छैन । ओटीटीमा कन्टेन ल्याउन लगानी र प्रविधिले अप्ठ्यारो बनाएको छ । तर, हलमा आइरहेका फिल्म र त्यसमा हुने लगानीमै राम्रो फिल्म ल्याउने दायित्व फिल्म मेकर्समा छ ।
कलाकारहरुले पनि आफूले लिने पारिश्रमिकको दायित्व बोध गर्नुपर्ने आवश्यकता भइसकेको छ । बजारले धान्नै नसक्ने पारिश्रमिकले निर्माताको लगानी त बढाएको छ नै फिल्मप्रति दर्शकको विश्वनीयता पनि घट्दो छ । मेकर्सले फिल्मको कथा र मेकिङभन्दा ‘स्टारडम’ बढी लगानी गर्दाको ‘साइड इफेक्ट’ अहिले नेपाली सिनेमामा देखिएको आभास हुने गरेको छ ।
यो वर्षको चुनौतीलाई सामना गर्न स्टारडमसँगै कथा चाहिन्छ । फिल्ममा फाइनान्सर भन्दा पनि प्रोड्युसर चाहिन्छ । र, अन्तर्वार्तामा गफ लगाउनेभन्दा दर्शकलाई लठ्याउने फिल्म तयार गर्ने निर्मातासँगै निर्देशक चाहिन्छ । अपनत्व बोध हुने कथा चाहिन्छ । ‘क्लिसे’ कथा र शैली पनि नेपाली बजारमा हाबी नभएका होइनन् ।
‘स्पाइडर म्यानः नो वे होम’, ‘पुष्पा’, ‘आरआरआर’मा देखिएकै कथा थिए तर त्यहाँ देखाउने शैलीमा नवीनता थियो । भव्य शैलीका बीच अपनत्व बोध गराउन सफल हुँदा ती फिल्महरु दर्शकका प्रिय बने । यो उदाहरण पनि नेपाली बजारमा छ । तर, यसलाई अपनाउन सक्ने कठिनाई पनि उत्तिकै छ । त्यसैले हामीले आफ्नो कथालाई खोज्नु मात्र होइन , रुचिकर किसिमले तयार पारेर पस्किनु पनि उत्तिकै आवश्यक छ ।