काठमाडौं- विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड १९ लाख ६७ हजार ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमितमध्ये हालसम्म ६१ लाख ९० हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टि भएको भइसकेको छ ।
यस्तै, हालसम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।
कोरोनाका कारण ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७, ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ ।