आर्थिक

मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभूषित

By खबरहब

April 14, 2022

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन् ।

राष्ट्रपति भवनमा आज भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेकी हुन् ।

मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारीसमेत दिएको छ ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् ।

३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमासमेत काम गरिसकेकी छन् ।