मनोरञ्जन

सोहेलले भने,’कार्यक्रम हेर्दा महिला र बालबालिकालाई समस्या नहोस्’

By खबरहब

April 14, 2022

काठमाडौँ– आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खानको कार्यक्रम काठमाडौँको दशरथ रंगशालामा हुँदैछ ।

२५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको कार्यक्रम ‘दबंग टुर रिलोडेड’ हो । यसमा सलमानसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ । आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार गरेको पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए । उनको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीले कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।

‘यो शो हामीले मनोरञ्जनका लागि सुरु गरेका हौँ । त्यसैले हामी यस शो मार्फत आर्टिस्टलाई दर्शकसँग प्रत्यक्ष साक्षात्कार गराउन चाहन्छौँ’ सोहेलले भने, ‘विश्वका हरेक आर्टिस्ट आफ्ना फ्यानलाई प्रत्यक्ष भेट्न चाहन्छन् । किनकी अन्य माध्यमको भेटाइ केवल एकतर्फी हुन्छ ।’ सोहेलले ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरे । कार्यक्रममा बालबालिका र महिलाहरु पनि उपस्थित हुने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए ।

‘सलमान खानको शो भएकाले बालबालिका र महिला आउँछन् । उनीहरुलाई सहज किसिमले शो हेर्ने वातावरण बनाउने दायित्व हाम्रो हो । हामीले उनीहरुलाई शो सुरक्षित तरिकाले हेर्न पाउने व्यवस्था मिलाउनु पर्छ । म यो हृदय देखि नै अनुरोध गर्दछु । हामी अनुशासित रहेर शोलाई इन्जोय गरौँ’ सोहेलले भने ।

उनले आयोजित पत्रकार सम्मेलनमा आफू सगरमाथा हेरेर मात्र फर्किने समेत बताए । ‘बाल्यकालमा आउँदा मैंले एभेरेष्टलाई हेर्न र महसुस गर्न पाइन् । तर, आउँदो महिनामा यहाँ आएपछि म एभरेष्ट नहेरी फर्किनन्” सोहेलले भने । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए । मन्त्री आलेले सलमान झैँ सोहेललाई पनि एभरेष्टमा ब्रेकफास्ट गर्न र घुम निम्ता दिएका हुन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको पनि भ्रमण गराउने तयारी मन्त्री आलेको रहेको छ ।

पत्रकार सम्मेलनमा आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानको कार्यक्रमका लागि ५ हजार, १० हजार र २५ हजार रुपैयाँको टिकट दर तोकिएको बताए । दिउँसो १२ बजे बाट डिजे सेसन सुरु गरिने ‘दबंग टुर रिलोडेड” का लागि बिहान ११ बजेदेखि रंगशालाको गेट खुला गरिनेछ ।