तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

क्रिकेट

रूपन्देही ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

By खबरहब

April 14, 2022

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लबमाथि ६ विकेटले जित निकालेसँगै रूपन्देहीले फाइनल पुगेको हो । 

१ सय ४ रनको लक्ष्य रूपन्देहीले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । रूपन्देहीका लागि बसिर अहमदले ४५ रन र सन्दीप रजालीले नटआउट १९ रन जोडे । टस जितेर ब्याटिङ रोजेको नेपाल आर्मी १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।

नेपाल आर्मीलाई सस्तैमा समेट्न रूपेश कुर्मी र बसिर अहमदले २–२ विकेट लिए । तेस्रो स्थानको लागि शुक्रबार नेपाल आर्मी र उत्तर प्रदेश ११ बीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

पाँचौँ स्थानको लागि भने शुक्रबार दिउँसो २ बजे एपीएफ क्लब र पुश स्पोर्ट्स दिल्ली दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधीको लागि भने शनिबार रूपन्देही ११ र मलेसिया ११ दिउँसो २ बजे आमने सामने हुनेछन् ।