राजनीति

वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम

By खबरहब

April 14, 2022

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहीबार नयाँ वर्षको शुभकामना दिने क्रममा मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे स्थानीय चुनावपछि अध्यादेश ल्याएरै भए पनि प्रहरी भर्ना प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् ।

उनले वैशाख ३० गतेभित्र प्रहरी समायोजन गर्न संघ सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

मन्त्री साहले तीनवटै तहबीचको सम्बन्ध सुमधुर होस् र संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने आफूहरूले अपेक्षा राखेको पनि बताए ।

उनले विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले अध्यादेशमार्फत नै अगाडि बढ्ने बताए ।

मन्त्री साहले कर्मचारीको अभावका कारण आफूहरूले राम्ररी काम गर्न नपाएको पनि बताएका थिए ।