मुख्य समाचार

मतगणना अपडेट: काठमाडौंसहित ६ महानगरमा केही बेरमै गणना सुरु

By खबरहब

May 14, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदैछ। एकसाथ पाँच वडा वडाबाट मतगणना सुरु हुनेछ। वडा नम्बर १ र बत्तीसबाट एकसाथ मतगणना सुरु गर्ने तयारी छ। काठमाडौं महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा हुनेछ।

काठमाडौ, ललितपुर, पोखरा, वीरगन्ज, भरतपुर र विराटनगर महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। काठमाडौंमा हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भए पनि अहिलेसम्म सुरु भएको छैन।

ललितपुर महानगरपालिकामा मतगणनाको समय तोक्न सर्वदलीय बैठक बसिराखेको छ। यस्तै चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भएको बताइएको छ।

मोरङको विराटनगर महानगरपालिकामा पनि मतगणना गर्ने तयारी भइरहेको छ। कास्कीको पोखरा महानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकामा बिहानदेखि मतगणना थाल्ने बताइएको भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

महानगरको मतगणना सुरु नभए पनि अन्य नगरपालिका र पालिकाको गणना सुरु भइसकेको छ। केही पालिकाको मतपरिणा नै सार्वजनिक भइसकेको छ।