तस्वीर- युक्रेनी राष्ट्रपतिको प्रेस कार्यालय

अन्तर्राष्ट्रिय

युक्रेनी फौजको आक्रमणमा रुसी सेनाको ‘बटालियन’ ध्वस्त

By खबरहब

May 14, 2022

काठमाडौं– पूर्वी युक्रेनमा रुसी फौजले नदी तर्ने क्रममा युक्रेनी सेनाले आक्रमण गर्दा रुसी सेनाको एउटा एकाइ नै ध्वस्त भएको छ । युक्रेनी फौजको प्रत्याक्रमणमा रुसी सेनाको ‘बटालियन’ एकाइ ध्वस्त भएको युक्रेनी सुरक्षा अधिकारीले जनाएका छन् ।

ठूलो नतिजा हासिल गर्नुपर्ने दबाबबीच रुसी फौजले अस्थायी पुलमार्फत् नदी पार गर्ने जोखिमपूर्ण कदम चालेसँगै युक्रेनी फौजको निशानामा परेका थिए ।

सेभेरोडोनेट्स्क शहको पश्चिमा पर्ने सिभेस्र्की डोनेट्स नदी तर्ने क्रममा रुसी फौज युक्रेनी सेनाको आक्रमणमा परेको स्काई न्युजले जनाएको छ ।

युक्रेनी पक्षले जारी गरेको भिडियोमा धेरै सैनिक उपकरण तथा सैनिक सवारी साधनहरु जलेर नष्ट भएको देखिन्छ । बेलायती रक्षा मन्त्रालयले बताएअनुसार यस आक्रमणमा रुसले झण्डै ‘बटालियन’ आकारको सैन्य एकाइ गुमाएको छ ।

रुसी फौजको एक ‘बटालियन’ सैन्य एकाईमा ७ देखि ८ सय सैनिक रहने गर्छन् । रुसी फौजले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै हाल पूर्वी युक्रेनमा भीषण लडाईंहरु भइरहेका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले रुसी फौज विरुद्ध प्रत्याक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।