फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो

By खबरहब

June 14, 2022

काठमाडौँ- पाकिस्तानमा पुनः अहमदिया मुसलमानको चिहान भत्काइएको समाचार सार्वजनिक भएको छ । फ्राइडे टाइम्स साप्ताहिक अखबारका अनुसार पछिल्लो समय पाकिस्तानको पेशावरमा रहेको अहमदिया मुसलमानको चिहान भत्काइएको हो ।

पछिल्लो घटनामा १९ वर्षे इश्फाक अहमदको चिहान भत्काइएको पाकिस्तानी अहमदिया समुदायका प्रवक्ता सलिम उद दिनले जनाएका छन् । त्यसअघि पाकिस्तानको ओकारा क्षेत्रमा अर्का ३६ वर्षे अहमदिया समुदायका व्यक्तिको छुरा धसी हत्या गरिएको थियो । ओकारामा ती व्यक्तिलाई छोराछोरीको सामुन्ने नै छुरा धसी हत्या गरिएको थियो । हत्यारा पाकिस्तानी तालिबानसँग सम्बन्धित रहेको जनाइएको छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा अहमदिया मुसलमानहरु साम्प्रदायिक हिंसाको सिकार हुँदै आएका छन् । तीन महिनाअघि सार्वजनिक एक समाचारमा प्रहरीले नै पञ्जाब प्रान्तमा अहमदियाहरुको चिहान भत्काइदिएको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।