फाइल तस्वीर

समाचार

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुग्यो

By खबरहब

July 14, 2022

रसुवा – जिल्लाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्‍याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ ।

भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत पुग्ने बताउँछन् ।

‘गाउँपालिकाको ६ वडाका साथै आमाछोदिङ्मो गाउँपालिकाका बिरामीलाई समेत सेवा दिन सकिने छ’, उनले भने । यस्तै जिबजिवेस्थित ग्रामीण स्वास्थ्य अस्पतालले प्राप्त गरेको एम्बुलेन्स अस्पतालकै मातहतमा राखी सञ्चालनमा ल्याइने कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए ।

एम्बुलेन्समार्फत छिमेकी जिल्ला नुवाकोटका बासिन्दालाई समेत सेवा दिन सकिने उनको भनाइ छ । गोसाइँकुण्ड, कालिका गाउँपालिकाका साथै उत्तरगया गाउँपालिकाले समेत हाल एम्बुलेन्स सञ्चालन गर्दैआएका छन् ।