तस्वीर- टाइम्स नाउ डिजिटल

अन्तर्राष्ट्रिय

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

By खबरहब

July 14, 2022

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय रुपैयाँ लिएको अभियोग लागेको थियो ।

उनलाई सोही अदालतले सन् २००३ मा दोषी ठहर गरेको थियो । यद्यपि यस मुद्दा सन् २०१८ यता पुनरावेदनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जमानतमा रिहा भएका थिए ।

यद्यपि अदालतको पछिल्लो आदेशसँगै उनलाई पुनः पक्राउ गरिएको भारतीय समाचार च्यानल टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

उनलाई भारतीय अपराध संहिता आइपीसीको धारा ४०६, १२० बी, ४६५, ४६८, ४७१ र भारतीय राहदानी ऐन अनुसार सजाय सुनाइएको अदालतलाई उद्धृत गर्दै टाइम्स नाउले जनाएको छ ।

विदेशी कार्यक्रममा नृत्य टोलीमा सहभागी गराई उनी र उनका दाजु शमसेर सिंहले मानिसहरुलाई विदेश लैजाने गरेका थिए । हाल उनको दाजुको मृत्यु भइसकेको छ । उनीहरुविरुद्ध ३५ वटा उजुरी परेको जनाइएको छ ।