अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

July 14, 2022

आज असार ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व जाने

देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न नसकी देश छाडेर मालदिभ्स पुगेका राजपाक्षे साउदीया एअरलाइन्सको विमानमार्फत् सिंगापुरको चाङ्गे विमानस्थल ओर्लेका हुन् ।

उनी स्थानीय समयअनुसार ७ बजेर १७ मिनेटमा चाङ्गे विमानस्थल पुगेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

उनी सिंगापुरबाट आजै मध्यपूर्वको कुनै मुलुक लाग्ने बताइएको छ ।

मालदिभ्सको राजधानी मालेबाट आफ्नी श्रीमती र केही सहयोगीका साथ उनी सिंगापुर उडेका थिए । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए ।

तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् । यसैबीच, श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् ।

यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबिच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक सङ्कटबिच राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएका छन् ।

यसै साता राष्ट्रपति गोटाबाट राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी उनको निवासमा प्रवेश गरेका थिए । बुधबार प्रदर्शनकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए ।

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका थिए । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् ।

त्यस्तै, श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने र संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी छन् ।

‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानूनको शासन कायम गर्न आह्वान गर्दछौं’ उनले एक ट्वीट सन्देशमा भनेकी छन् । उनले श्रीलंकाको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औँल्याएकी छन्।

जुली चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गरेकी छन् । ‘हामी सबै पक्षहरूलाई राष्ट्रको उन्नतिको लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधानहरू कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौं’ उनले ट्वीटमा भनेकी छन् ।

श्रीलंकामा शान्ति कायम गर्न सेना र प्रहरीलाई आदेश

श्रीलंकामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश भएको छ । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका हुन् ।

उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील गरेको छ ।

आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।

राष्ट्रपति देश छोडेर भागेपछि कार्यवाहक राष्ट्रपति बनेका विक्रमासिंघेले देशभर कफ्र्यूको घोषणा गरेका छन् ।

भारतमा दुर्लभ रक्तसमूह भएका मानिस भेटिए

भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् ।

मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन् । सामान्यतया, त्यहाँ चार फरक रक्त समूह प्रकार छन् । ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ ।

विश्वमा अहिलेसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् । पछिल्लो पटक गुजरातको राजकोटका ६५ वर्षीय पुरुषमा पनि यस्तो दुर्लभ देखिएको छ ।

सुरतको समर्पण रक्तदान केन्द्रका चिकित्सक सन्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती बृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो । तर, अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमूनाहरू मात्र पठाइएको थियो ।

पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दसौँ घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आइएसबीटी) ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ किनभने रगतमा ईएमएम छैन ।

जेलेन्स्की भन्छन् – युक्रेनमाथि रुसी आक्रमणले गर्दा श्रीलंकामा संकट

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तिएको टिप्पणी गरेका छन् । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झट्का’ सिर्जना गर्नु रहेको जेलेन्स्कीको भनाइ छ ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पु¥याएको उनले बताए । श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलव ६ अर्ब मानिस वित्त, खाद्य र ऊर्जा संकटमा छन् । आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ । मुद्रा सञ्चितिको अभावका कारण इन्धन आपूर्ति हुन सकेको छैन । खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तुको आयात हुन नसक्दा सर्वसाधारण मानिस सरकारविरुद्ध क्रुद्ध बनेका छन् ।

आतंककारी आक्रमण बढिरहेको भन्दै कश्मीरका मुसलमान नेताहरुद्वारा चिन्ता व्यक्त

हालै भारत प्रशासित जम्मु कश्मीरमा सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले आतंककारीहरुले कश्मीर उपत्यकामा आक्रमणहरु बढाइरहेको भन्दै त्यहाँ मानवको रगत र मानवीयता सस्तो भएको समेत टिप्पणी गरे ।

‘इस्लाम, साँच्चै भन्दा, हरेक धर्मले हरेक मानिसको सुरक्षामा जोड दिन्छ । यदी कुनै समस्या छ भने समाधानका लागि रगत बगाउनु मानवताको विरुद्धमा छ ।’ उनले भने ।

उनले कश्मीर उपत्यकामा काम गर्ने मानिसहरुको सुरक्षाको जिम्मा स्थानीय जनताको पनि भएको टिप्पणी गरे ।

भारतमा कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा दिइने

भारतमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको छ ।

सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ । जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध हुने पनि सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।

“भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइदैछ । त्यसैको अवसरमा जुलाई १५ देखि ७५ दिनसम्म १८ भन्दा बढी उमेरका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिने निर्णय गरेका छौँ,” सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई यसअघि मार्च १६ देखि कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको थियो ।

तालिबानद्वारा अफगानिस्तानको पूर्ववर्ती सरकारी अधिकारीका भाइ र भतिजाको हत्या

अफगानिस्तानको शासन चलाइरहेको लडाकु समूह तालिबानले पूववर्ती सरकारमा काम गरेका एकजना सरकारी अधिकारीका भाइ र भतिजाको हत्या गरेका छन् ।

पूर्ववर्ती अफगान सरकार अन्तर्गत उलेमा परिषद्का पूर्व प्रमुख मौलभी हुसामुद्दिन हुसामले आफ्ना भाइ र भतिजाको तालिबानले हत्या गरेको आरोप लगाएका हुन् ।

भारतीय समचार संस्था एएनआईका अनुसार उनले आफ्ना घाइते भाइको घाँटी रेटेर हत्या गरेको बताएका हुन् । तालिबानले भतिजालाई भने गोली हानेर मारेको मौलभी हुसामुद्दिन हुसामको आरोप छ ।

पछिल्लो समय तालिबानको निशानामा अफगानिस्तानमा सक्रिय इस्लामिक नेताहरु पर्न थालेको टिप्पणी भइरहँदा उलेमा परिषद्का पूर्व प्रमुखका भाइ र भतिजाको हत्या भएको समाचार सार्वजनिक भएको हो ।

भारतमा कोरोना बढ्यो, दक्षिण कोरियामा घट्यो

भारतमा बुधबारको तुलनामा कोरोना सङ्क्रमण १९ प्रतिशतले बढेको छ । बितेका २४ घण्टामा २० हजार एकसय ३९ जना सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

हिजोको तुलनामा आज तीन हजार दुईसय ३३ जना कोरोना सङ्क्रमित बढेका छन् । हिजो प्रकाशित विवरणअनुसार कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नौ सय छ पुगेको थियो ।

योसँगै हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा एक लाख ३६ हजार ७६ सक्रिय सङ्क्रमित रहेको जनाइएको छ । यो कुल सङ्क्रमितको शून्य दशमलब ३१ प्रतिशत हो । करिब चार महिनापछि १३ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १६ हजार चारसय ८२ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख २८ हजार तीनसय ५६ पुगेको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय ५७ जनाको मृत्यु भएको छ ।

बुधबार तीन लाख ९४ हजार सातसय ७४ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ८१ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । हिजो १३ लाख ४४ हजार सात सय १४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड २७ लाख २७ हजार पाँचसय ५९ मात्रा खोप लगाइएको छ ।

यता दक्षिण कोरियामा भने कोरोना सङ्क्रमितको सङ्ख्या हिजोको तुलना आज केही घटेको छ । बुधबार ३९ हजार एकसय ३६ जना कोरोना भाइरसको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

योसँगै दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या एक करोड ८६ लाख ४१ हजार एकसय नौ पुगेको छ । कोरोना सङ्क्रमणबाट बुधबार १६ जनाको मृत्यु भएको थियो । देशमा हालसम्म २४ हजार छ सय ९६ जनाको मृत्यु भइसकेको छ ।