ब्रेकिङ स्टोरी

सिट बाँडफाँडको सकसले सत्ता गठबन्धन नै धरमरमा

By खबरहब

August 14, 2022

काठमाडौँ – सत्तारुढ गठबन्धनमा फेरि नयाँ सकस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिलाई असफल बनाउन र अध्यक्ष केपी शर्मा ओलीको दम्भलाई यो चुनावमा ‘साइजमा राख्न’ तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर धरमर अवस्थामा पुगेको हो ।

गठबन्धनमा यति बेला सबैभन्दा निर्णायक मोडमा माओवादी केन्द्र छ । माओवादीलाई जता मिल्दा पनि चिठ्ठा पर्ने भएकाले अध्यक्ष प्रचण्ड आफ्नो फाइदालाई केन्द्र विन्दुमा राखेर कांग्रेस र एमालेसँग परस्पर छलफल गरिरहेको केही नेताहरूले बताएका छन् ।

नाम नखुलाउने शर्तमा माओवादी केन्द्रका नेताका अनुसार प्रचण्ड चुनाव लगत्तै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । तर कांग्रेसले सिट बाँडफाँडमै कन्जुस्याइँ गरेको र चुनावपछि ठूलो पार्टीको हैसियतले आफै प्रधानमन्त्री बन्नुपर्ने अडान लिइरहेका बेला प्रचण्डको ‘पोजिसन’ स्पष्ट भइसकेको छैन ।

यही अस्पष्टताका कारण प्रचण्डले कांग्रेससँगै एमालेका नेताहरुसँग पनि छलफल अगाडि बढाएका छन् । भारत भ्रमणबाट फर्के लगत्तै प्रचण्डले वाम एकताको रिहर्सल गरेका थिए । कम्युनिष्ट नेताहरूसँगको छलफलमा प्रचण्डले समाजवादी केन्द्र निर्माणको प्रयास समेत थालेका थिए ।

त्यो कोसँग मिल्दा अहिले माओवादी र नेकपा एकिकृत समाजवादीलाई बढी फाइदा हुन्छ भन्ने विषयमा केन्द्रित थियो । विगत पाँच वर्षको समीक्षामा नेकपा एमाले धेरै हिसाबले ‘फेलियर’ छ । त्यो असफलतामा प्रचण्ड र माधव नेपालको हातमाथि छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आँखा चिम्लेर विश्वास गर्दा संविधान धरापमा परेको, संसद् विघटन भएको र आफूहरू सत्ताभित्रै प्रतिपक्षीमा खुम्चिनुपरेको तितो अनुभव भएका कारण प्रचण्ड र माधव नेपाल खुलेर वाम एकता गर्न पछाडि हटेका हुन् ।

तर कांग्रेससँग तत्काल निर्णय गर्न सक्ने क्षमता नभएका कारण प्रचण्ड र माधव नेपाल आउँदो पुरै पाँच वर्ष ‘दक्षिणपन्थी’सँग पूरा सहकार्य गर्न सकिनेमा अन्योलमा छन् । त्यसमाथि कांग्रेस अरूलाई सम्मानजनक सिट र सोही अनुसार हैसियत दिनमा झनै ढिलाइ गर्ने पार्टी हो ।

एमाले अध्यक्ष ओलीले आफ्नो पद जोगाउन तत्कालै संसद् विघटन गर्न लागे पनि सहकार्यका लागि एक अर्कालाई सम्मान गर्न सक्ने नेताको रूपमै बुझिएको माओवादी नेताहरूको भित्री तर्क छ ।

‘कांग्रेससँग चुनावमा तालमेल गर्न गाह्रो छैन । तर तालमेल गरेर कति सिट पाउने हो ? चुनावपछि प्रधानमन्त्री को बन्ने हो ? माओवादीले कसरी आफ्नो पोजिसन लिने हो ? त्यसमाथि माधव नेपालको पार्टी पनि बोक्नु छ’ एक माओवादी नेताले प्रचण्डभित्रको मनस्थितिबारे खबरहबसँग भने, ‘त्यसैले अहिले कांग्रेससँग भन्दा एमालेसँगै सहकार्य गर्दा सजिलो हुने हो कि भन्ने द्विविधा उत्पन्न भएको छ । यसमा माधव नेपालजी पनि तयार देखिनु भएको छ ।’

माओवादीमा अहिले चुनावमा सिट बाँडफाँडको विषयलाई लिएर दुई वटा आशंका छ । पहिलो चुनावमा अन्तर्घात गरेर हराइदिने । दोस्रो, माधव नेपाललाई पनि आफैँले बचाउनुपर्ने कारणले कांग्रेससँग सम्मानजनक सिट पाउन संख्यामा सुनिश्चित गराउने ।

तर यी दुई वटै विषयमा निश्चितता छैन । पहिलो कांग्रेसभित्रको संस्थापनइतर पक्ष माओवादीलाई धेरै सिट दिन नहुने, दिए पनि, नदिए पनि अन्तर्घात गरेर हराइदिने क्षमता राख्छ । अर्को कुरा देउवा पक्षलाई कमजोर गराउन आफ्ना उम्मेदवार मात्रै जिताउने सम्भावनामा बढी आन्तरिक लडाई केन्द्रित हुने ।

कांग्रेसभित्रैको लडाईले यसपटक आफैलाई चुनाव जित्न स्वयंम प्रचण्ड गाह्रो देखिरहेका छन् । त्यसमाथि प्रचण्ड, देउवा, ओली लगायतलाई चुनाव हराउन स्वतन्त्र उम्मेद्वारहरुले ‘नो नट अगेन’ अभियान नै चलाएका छन् ।

यस्तो अवस्थालाई राम्रोसँग नियालेको र परिस्थितिलाई काबुमा राख्न सक्ने क्षमताका ओलीसँग पो तालमेल गर्नुपर्छ कि भन्ने द्विविधा प्रचण्डमा विकास भएको छ । देउवासँग सहमतिको रटान लगाउने तर भागबण्डामा आफूले धेरै सिट नपाए फेरि एमालेसँग मिल्ने विकल्पमा प्रचण्ड एक कदम अगाडि बढेको पनि माओवादी नेताहरू बताउँछन् ।

त्यसैले कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँड कार्यदलले बुझाउने प्रतिवेदन र त्यसलाई कार्यान्वयन गराउन कांग्रेस सभापति शेरबहादुर देउवा थोरैमाथि तलमाथि हुँदा प्रचण्डको प्रधानमन्त्री बनिछाड्ने दौड एमालेको कित्तामा पुग्न सक्छ। जसमा माधव नेपाल र झलनाथ खनालको पनि ‘ग्रीन सिग्नल’ छ ।

यस्तो अवस्थामा आन्तरिक लडाई र सिट बाँडफाँडमा कांग्रेस हदैसम्म लचिलो हुनुपर्ने आवाज कांग्रेसभित्रको संस्थापन पक्षमा बलियो गरी उठिरहेको छ ।