फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा ४ सैनिकको मृत्यु

By खबरहब

August 14, 2022

काठमाडौँ– पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार सैनिकको ज्यान गएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तरी वजिरिस्तानको मिर अली क्षेत्रमा सैनिक लस्करलाई लक्षित गरी आक्रमण भएको हो ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार आक्रमणमा अरु केही सैनिक घाइते भएका छन् ।

मारिने सैनिकहरु २२ देखि ३० वर्ष उमेर समूहको रहेको जनाइएको छ । पाकिस्तानी सेनाले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले आक्रमणको निन्दा गर्दै मुलुकमा आतंकवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पाकिस्तानको सुदुर उत्तरी वरिजिस्तानको जातीय क्षेत्रमा सशस्त्र लडाकु एवम् पाकिस्तानी सैनिकबीच नियमितजसो हिंसात्मक घटनाहरु हुँदै आएका छन् ।