खेलकुद

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

By खबरहब

September 14, 2022

काठमाडौँ- यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।

कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।

चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीन पटक नेपाल फाइनल पुगेर पनि भारतसँग निराश बन्दै आएको छ ।

नेपाल र भारत यस पटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३-१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६-० ले पराजित गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधैँ हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।