पर्यटन

शिद्धबाबा पार्क निर्माण

By खबरहब

September 14, 2022

बेनी– म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो । 

पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको शिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो ।

विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख गरि १ करोड १ लाख लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले रु ६६ लाख ३२ हजार ८७ लाखमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरेको हो । पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले जानकारी दिए ।

उनका अनुसार, पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन निर्माण गरिएको छ । जङ्गलको बिचमा खाली रहेका ठाउँहरूलाई उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढी सँगै ढुंगा छपाउने तयारी गरिएको छ । पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुनेछ ।

झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झिँ देखि २४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण सम्पन्न भैसकेको छ । पार्कभित्र ढुंगाका छपनी बिच्छाउने, पार्क परिसरमा फुल प्रजातिका बिरुवा रोपन र पार्कसम्म जाने पदमार्ग अन्तरगत भीरकुनामा प्रतीक्षालय बनाउने काम बाँकी रहेको वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।

‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुवैले जोडिएको छ, पार्कका पूर्वाधार बनेसँगै पर्यटकहरू थप आकर्षित भएका छन्, जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरूको लागि आकर्षणको केन्द्र बन्न थालेको छ ‘-वडा अध्यक्ष शेरमञ्जाले भने । झिँलाई रघुगंगाले सांस्कृतिक गाउँ घोषणा गरेको छ । गाउँमा पर्यटक लोभ्याउनुको लागि सांस्कृतिक पार्क समेत निर्माण सुरु गरिएको छ । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि झिँमा होमस्टे (घरवास) र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालनमा रहेको छ । 

समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरूलाई अवलोकन गर्न सकिन्छ भने सूर्योदय, गुराँसे जंगल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसाबले महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित छ । रघुगङ्गा गाउँपालिकाको अगुवाइमा टोड्केमा फुटबल समेतको बहुउद्देश्यीय हाईअल्टीच्युट खेल मैदान निर्माण थालनी भएको छ । टोड्केमा वनभोज पार्क, टोड्के तपोभुमी शिवालय घेराबार, पार्क कम्पाउण्ड, शौचालय र खानेपानी निर्माण लगायतका पूर्वाधारहरू निर्माण समेत गरिएको छ ।