काठमाडौँ– नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो । खेल १९ ओभरमा घटाइएको थियो ।
पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दिपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ रन बनाए ।
आर्मीका साहब आलमले दुई विकेट लिँदा जितेन्द्र मुखिया, सोमपाल कामी, सुसन भारीले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रनको योगफल तयार गरेको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ६६ रन बनाएका थिए । विनोदले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरे । यस्तै, ओपनर अर्जुन साउदले पनि ५३ रनको अर्धशतकीय इनिङ खेले । यसबाहेक, टिमको खातामा भीम सार्कीले १५ रन थप्दा रोहित पौडेल र राजेश पुलामीले समान १४ रन जोडे ।
पुलिसका करण केसीले दुई विकेट लिए । यस्तै, गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए । आर्मीसँगको हारका बाबजुद पुलिस समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।