देश/प्रदेश

ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

By खबरहब

September 14, 2022

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तीमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

वडा बाल संरक्षण समितिका अनुसार वडामा बालविवाहमा न्यूनीकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषणा गरेका हुन् ।