प्रतिकात्मक तस्वीर

देश/प्रदेश

कास्कीमा एक मतदानस्थल गाभियो, एक थपियो

By खबरहब

September 14, 2022

काठमाडौँ- कास्की जिल्लामा एक मतदानस्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ । जिल्लामा पोखरा महानगरपालिका–३० स्थित सरस्वती आधारभूत विद्यालय मतदानस्थल सोही वडाको त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा गाभिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्ता माविमा एक मदतानस्थल थपिएको छ । जिल्लामा कूल एक सय ५० मतदानस्थल रहेकामा एउटा गाभिएको र एउटा थपिएका कारण सोही सङ्ख्या नै यथावत रहेको उनले जानकारी दिएका हुन् ।

भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल निर्धारण गरिने कानूनी व्यवस्था छ । सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार किलोमिटरभन्दा बढी दूरी हुन नहुने प्रावधान छ । जिल्लामा हाल तीन सय ३६ मतदान केन्द्र रहेका छन् ।

यसअघिको स्थानीय निर्वाचनमा कास्कीमा कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार नौ सय ४० रहेकामा आसन्न निर्वाचनका लागि लगभग १० हजार सङ्ख्या थपिने जनाइएको छ । कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको न्यौपानेले जानकारी दिए ।