खेलकुद

मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

By खबरहब

December 14, 2022

काठमाडौं – क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसीले एक गोल गरे भने जुलियन अल्भारेजले दुई गोल गरे ।

अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एक्लो प्रयासमा शानदार गोल गर्दै पहिलो हाफमा २ शून्यको अग्रता बनाएका हुन् ।

दोस्रो हाफको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन् । उनलाई दोस्रो गोलका लागि मेस्सीले लामो संघर्ष गरेर पास मिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकपको फाइनल खेल्नेछ । दोस्रो सेमिफाइन आज फ्रान्स र मोरोक्कोबीच हुँदैछ ।