तस्वीर- युनिसेफ

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा निमोनियाका बिरामी बढे

By खबरहब

December 14, 2022

काठमाडौँ– अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् । अफगानिस्तानको टोलो न्युजका अनुसार तालिबानले शासन चलाइरहेको उक्त मुलुकमा निमोनियाका बिरामी ह्वात्तै बढेका छन् ।

राजधानी काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै टोलो न्युजले जनाएअनुसार हरेक दिन निमोनियाका ३० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् ।

हिउँद सुरु भइरहेका बेला चिसो मौसन, सरसफाईमा कमी र खराब हावाका कारण निमोनियाका बिरामी बढेको बताइएको छ । सरकारी अधिकारीले टोलो न्युजलाई दिएको जानकारीअनुसार यस वर्षको पछिल्लो ११ महिनामा निमोनियाबाट ९ लाख ६० हजारभन्दा धेरै बिरामी परेका छन् । यीमध्ये अधिकांश बालबालिका छन् ।

अफगानिस्तानमा निमोनियाबाहेक ६ सय जनाभन्दा धेरै हैजाका बिरामी पनि फेला परेका छन् । यसबाट १५ जनाको मृत्यु भइसकेको बताइएको छ ।