समाचार

सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा 

By खबरहब

December 14, 2022

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।

 खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताएका छन्। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए । 

चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका-८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ । तर यसको कार्यान्वयन भएको छैन । आज दिनभर यहाँ १५ देखि २० सम्म जिप र १० देखि १५ सम्म मोटरसाइकल पार्किङ गरिएको थियो । सवारी साधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ ।

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारी बताए। उनले आफूहरूले चाहेर पनि हटाउन नसकेको गुनासो गरे । सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उनको भनाइ छ । तम्घासमा रहेको जिप पार्कमा सवारी पार्किङ कममात्रामा गरिएको छ । बसपार्क निकै साँघुरो रहेको छ ।

खेल मैदानमा सवारी पार्किङ गर्न नहुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिलेले बताए। उनले सम्बन्धित निकायबाट पार्किङ स्थल अन्यत्र तोक्न आग्रह गरे । रेसुङ्गा नगरपालिका-८ का वडाध्यक्ष निरञ्जन काउछाले वडाको तर्फबाट निषेध गरिएकाले सवारी सिक्न, सिकाउन र पार्किङ गर्न नहुने बताए। उनले यसको कार्यान्वयन हुने जानकारी दिए ।