अपराध

महिलाको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

By खबरहब

December 14, 2022

काठमाडौँ- सिरहा प्रहरीले महिलाको हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।

हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

गाउँ नजिकै रहेको कर्जन्हा नगरपालिका–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मङ्गलबार अपराह्न बाटोमा लुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।