देश/प्रदेश

सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

December 14, 2022

काठमाडौँ- सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नंको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१त २४४० नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव परीक्षणपश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन् ।