काठमाडौँ– हुन त उमेर ढल्कदैँ गएपछि सबैलाई बुढेसकालको चिन्ता हुन्छ । त्यसैल पनि होला, मानिसले किशोरावस्थामा सक्दो मेहनत गर्छन् । ताकि, बुढेसकालमा सहज र सुखी जीवन बाँच्न सकियोस् ।
तर, राष्ट्रका लागि करौडौँ आम्दानी गर्ने र आफ्नो ज्यानको जोखिम मोलेर हिमाल आरोहण गर्ने शेर्पाहरूको जिवनको उत्तरार्ध भने अन्धकारमय जस्तै छ ।
सरकार, सरोकार निकाय र एक्पीडिशन कम्पनीहरुले शेर्पाहरुको भविष्यका बारेमा नसोच्दा उनीहरु निराश छन् ।
सगरमाथा आरोही लाक्पा डेन्डी शेर्पाको बुझाइमा हिमालको लागि पसिना, रगत र आफ्नो स्वर्ण युग खर्च गर्ने शेर्पाहरूको भविष्यको वास्तवमा कुनै सुरक्षित अवकाश जीवन छैन ।
हिमालका लागि शेर्पा कति महत्वपूर्ण छन् भन्ने बुझ्नको लागि तेन्जिङ नोर्गेसँगै मे २९, १९५३ सगरमाथाको प्रथम आरोहण गरेका एडमण्ड हिलारीको यो भनाइले स्पष्ट पार्छ ।
‘धेरैजसो पर्वतारोहण अभियानहरूमा शेर्पाहरूले धेरै महत्वपूर्ण भूमिका रहेको छ, वास्तवमा तिनीहरूमध्ये धेरैले चुचुरोमा र शिखरसम्म पुर्याउन नेतृत्व गर्छन्,’ उनी भन्छन् ।
सोलुखुम्बुको महाकुलुङ–३ निवासी ३३ वर्षीय लाक्पा डेन्डी शेर्पालाई हिजोआज उत्तराद्धको चिन्ताले सताइरहेको छ । भविष्यको चिन्ता त छँदै छ । तर पनि झिनो आशा अझै उनको मनमा छ । शेर्पाले ८ हजार मिटरभन्दा माथिका विभिन्न हिमाली शिखरहरू २३ औँ पटक सफल आरोहण गरिसेका छन् ।
दुःखद तर सत्य, लाक्पा डेन्डीजस्ता उल्लेख्य संख्यामा पर्वतारोही सरकार र विभिन्न संघसंस्थाको उदासीनताका कारण सुरक्षित भविष्यविना नै अन्यौलमा काम गरिरहेका छन् ।
साँच्चै उनीहरु धेरै नै चिन्तित छन् ।
‘नेपालमा आफ्नो भविष्य अनिश्चित देखेर धेरै पर्वतारोहीहरू सुरक्षित भविष्यका लागि विदेशमा बसोबास गरिसकेका छन्,’ लाक्पा भन्छन् ।
उनको चिन्ता यत्तिकैमा रोकिएको छैन । यदि सरकार, सरोकारवाला निकाय तथा संघसंस्था र एक्पीडिशन कम्पनीहरू शेर्पाहरूको भविष्यको बारेमा चिन्तित नहुने हो भने भविष्यमा शेर्पा र अन्य पर्वतारोहण गाइडको अभाव हुन सक्छ ।
सरकारले प्रत्येक वर्ष राजस्वका रूपमा ठूलो रकम सङ्कलन गर्छ तर राज्यको कोषमा योगदान पुर्याउँदै आएका शेर्पाका लागि कुनै राम्रो नीति तर्जुमा गर्न नचाहेको लाक्पाको बुझाइ छ ।
सरकारले सन् २०१९ को शरद ऋतुमा मात्रै विभिन्न हिमाल आरोहण गर्ने आरोहीबाट ४९ करोड २८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
कोभिडपछिको अवधिमा पनि नेपालले २०२१ मा जारी गरिएको शरद ऋतु आरोहण अनुमतिपत्रबाट रु २ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । वसन्त ऋतुपछि आरोहणका लागि शरद ऋतुलाई उपयुक्त मौसम मानिन्छ ।
१३ वर्षको उमेरमा सगरमाथा आधार शिविरमा पुगेर विश्वको सर्वोच्च शिखर चुचुरोमा पुग्ने सपना देख्दा नै लाक्पा हिमालसँग मोहित भएका थिए । पर्वतारोहण उनको रुचि थियो । शुरुमा लाक्पाले सोलुखुम्बुको ६ हजार मिटर अग्लो हिमाल आरोहण गरेका थिए ।
सन् २००८ देखि ६ हजार मिटर अग्ला हिमाल आरोहण गरेपछि उनले पर्वतारोहणको तालिम लिएर ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्न थाले ।
पहिलो सगरमाथा चढ्ने उद्देश्यले सन् २०१५ मा सगरमाथा आधार शिविर गएका थिए, लाक्पा । दुर्भाग्यवश, सन् २०१५ को विनाशकारी भूकम्पका कारण उनी आफ्नो लक्ष्यमा सफल हुन सकेनन् ।
एक वर्षपछि, सन् २०१६ मा उनले दोस्रो प्रयास गरे अनि आफ्नो सपनालाई साकार पारे ।
‘विश्वको चुचुरोमा पुगेपछि आफूलाई पनि आत्मविश्वास बढेको अनुभुत गरेँ । र मानिस धेरै खुसी हुँदा रुने गरेको त्यही अनुभव गरेँ,’ सगरमाथाको चुचुरोमा पुगेपछिको आफ्नो पहिलो अनुभव बाँड्दै उनी भन्छन् ।
त्यसयता उनी हिमाल चढ्न रोकिएका छैनन् ।
उनले अहिलेसम्म सातपटक सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०१८ मा उनले वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेका थिए ।
उनले सगरमाथा १० दिन १८ घण्टा र ३० मिनेटमा ३ चोटी सफल आरोहण गरेसँगै सबैभन्दा छिटो सगरमाथा चढ्ने गिनिज रेकर्ड पनि राखेका छन् । उनले मे १३, मे १८ र मे २४ मा चढेका हुन् ।
‘आरोहण हाम्रो पेशा हो र नयाँ हिमाल चढ्न मनपर्छ,’ उनी भन्छन्, ‘कुनै पनि पेशामा कडा परिश्रम गर्नु सधैं इमानदारी हुन्छ ।’
जर्मन कपडा ब्राण्ड भाउडेका ब्रान्ड एम्बेसडर समेत रहेका उनले भविष्यमा धेरै नयाँ कीर्तिमान बनाउने सपना देखेका छन् ।
सगरमाथा बाहेक, उनले मनास्लु हिमाल, के२ (सन् २०१७,२०१८) नंगा पर्वतलगायत हिमालको सफल आरोह गरेका छन् ।
८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोह गर्ने उनको लक्ष्य छ ।
आफ्नो ग्राहकको मास्क रेगुलेटर बिग्रिएपछि लाक्पाले सन् २०१७ मा सगरमाथाको आरोहण विना अक्सिजन गरेका थिए ।
यसबाहेक उनले नङ्गा पर्वत र मनास्लु पनि विना अक्सिजन आरोहण गरेका थिए । सन् २०२० मा मनास्लु हिमालको चुचुरोमा ५ घण्टा अक्सिजनविना बसेर चुनौती लिएका थिए ।
मनास्लु हिमालमा उनलाई बहराइनका राजकुमार सेख नासेर बिन हमाद अल खलिफाको टोलीको तस्वीर खिच्ने जिम्मा पनि दिएको थियो ।
टोलीमा १५ बहराइनी र तीन बेलायती नागरिक थिए । उनले सबै आरोहण दलको सदस्यको फोटो खिच्नको लागि चुचुरोमा ५ घण्टा बिताएका छन् ।
‘आरोहण हाम्रो पेशा हो, हामी आफ्नो काम इमानदारीका साथ गर्छौँ, नाम र कीर्तिको पछि लाग्दैनौँ,’ उनले भने, ‘जबकि पर्यटकहरू पैसा लगानी गरेर नाम र कीर्तिका लागि यहाँ आउँछन् ।’
तपाईं आफ्नो पेशाप्रति सन्तुष्ट हुनुहुन्छ कि असन्तुष्ट भन्ने खबरहबको प्रश्नमा लाक्पा भन्छन्– ‘होइन, म असन्तुष्ट छैन । बरु धेरै उत्साही छु ।’
‘हिमालले मलाई इशारा गरिरहेको महसुस गरेँ । त्यसपछि मैले विदेश उड्ने योजना छाडेर हिमालमा मेरो सपनाहरू पछ्याउन थालेँ, जसले मलाई प्रसिद्धि दिएको छ,’ लाक्पा आफ्नो अनुहारमा फराकिलो मुस्कान बोकेर भन्छन् ।
यसो भन्दै गर्दा उनले सगरमाथाको शिखरमा पाइला टेक्दा आफ्नो रोमाञ्चक अनुभवलाई प्रस्ट पार्दै भन्छन्, ‘उच्च शिखरमा पुगेपछि तपाईँले प्राप्त गर्ने सन्तुष्टि र उत्साहको भावना अतुलनीय छ ।’
उनले आफ्ना राम्रा नराम्रा अनुभवहरू समेटेर पर्वतारोहणसम्बन्धी पुस्तक (अंग्रेजी र नेपालीमा) लेखेर आफ्नो जीवनमा एक अर्को अध्याय थप्दैछन् । सम्भवत्ः उनको पुस्तक आगामी वर्ष प्रकाशित हुनेछ । ‘राम्रो पर्वतारोही सामान्यतया
विवेकशील पर्वतारोही हुन्छ, तर लापरवाही, मास्क रेगुलेटरको समस्या, अव्यवस्थित समय, हिँड्ने गति र केही असोचनीय मौसमका कारण मृत्युलगायत अन्य विपद् आउन सक्छ,’ उनी भन्छन् ।
लाक्पाका लागि हिमाल नै सबथोक भएकाले नाम र कीर्तिबाहेक कमाइको माध्यम पनि बनेको छ । उनी भन्छन्, ‘वास्तवमा पहाडहरू हाम्रा भगवान हुन् ।’
यसबाहेक उनी नेपाल पर्वतारोहण संघ, लायन्स क्लब अफ सेभ हिमालय, कुलुङ शेर्पा समाज जस्ता विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा आवद्ध पनि छन् ।