देश/प्रदेश

भरतपुर अस्पतालले भन्यो : कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू

By खबरहब

January 15, 2022

चितवन– चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केहीपछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने विरामी र विरामी कुरुवाले पनि हेलचेक्र्याई नगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले आग्रह गरेको छ ।