अन्तर्राष्ट्रिय

युक्रेनमा अलपत्र विदेशी नागरिक

By मनोज घिमिरे

February 15, 2022

काठमाडौँ- रुसी आक्रमणको जोखिम बढ्दै गएको युक्रेनको विषयमा संसारका धेरै देशको चासो बढेको छ ।

कुनै पनि दिन रुसले आक्रमण गर्न सक्ने तथा त्यहाँ भएका आफ्ना नागरिक असुरक्षित हुनसक्ने आशङ्काले अमेरिका र बेलायत लगायत देशको नेतृत्वलाई चिन्तित तुल्याएको छ ।

धेरै देशले आफ्ना नागरिकलाई त्यो देश छाड्न भनी सकेका छन् । यसै कारण देश छाड्नेको लस्कर नै लाग्न थालेको छ । यस भीडमा केन स्टुवार्ट भने सामेल छैनन् । उनलाई पनि आफ्नो जीवनको माया नभएको होइन । परन्तु, केही प्रशासनिक झन्झटका कारण उनी युक्रेनमा नै अल्झिएका छन् ।

उनकी श्रीमती टाटियानाले भर्खरै छोरा डगलसलाई जन्म दिएकी छिन् । इडिनबर्गबाट युक्रेन पुगेका किनसँग छोराको जन्म दर्ताको प्रमाणपत्र पनि छैन । त्यो पाउन अझै दुई साता लामो समय लाग्ने उनी बताउँछन् । जन्म दर्ता विना पासपोर्ट हुँदैन र पासपोर्ट बिना युक्रेन छाड्ने सम्भावना नै हुँदैन ।

बेलायती सरकारले लेखेको पत्रमा रुस र युक्रेनको कारण उत्पन्न गतिरोधमा दूतावासको थप सहयोगको अपेक्षा नगर्न पनि भनेको छ । ‘उनीहरूले आफ्नो देशका नागरिकमा चासो दिए पनि हामी धेरै समस्यामा छौ’ किनले भने । उनले आफू आत्तिएको पनि बताएका छन् ।

रुसले युक्रेनको क्रेमियन प्रायद्वीपमा अधिन जमाए यता सन् २०१४ यता यी दुई देशबीचको सम्बन्ध खराब बनेको छ ।

रुसले युक्रेनको क्रेमियन प्रायद्वीपमा अधिन जमाए यता सन् २०१४ यता यी दुई देशबीचको सम्बन्ध खराब बनेको छ । मध्यउत्तरी क्षेत्रमा रहेको युक्रेनको राजधानीमा आफ्नो घर बनाएर बसेका किनका लागि त्यहाँ आक्रमण भएमा पश्चिमी क्षेत्रमा रहेका आफन्तको घरमा गएर बस्न नै उपयुक्त हुने सक्ने छ ।

उनी तत्कालका लागि त्यही बसेर ‘जे हुन्छ सहुँला’ भन्ने या पश्चिमी क्षेत्रमा रहेका आफन्तको घरमा गएर बस्नेबाहेक अन्य विकल्प नभएको बताउँछन् । उनकै साथी स्कट स्टुवार्ट म्याकेन्जी भने ३० वर्षको युक्रेन बसाइ पछि श्रीमती र दुई सन्तानका साथ बेलायत फर्कने योजनामा छन् ।

‘बच्चाहरू पनि आफ्नै साथमा भएकाले हामीले सुरक्षालाई प्राथमिकता दिएका छौ । यस कारण हामी जत्ति सक्दो चाँडो यस ठाउँ छाड्ने योजनामा छौँ,’ स्टुवार्टले भने । उनको अर्का व्यवसाय भएको पोल्यान्डमा जाने सम्भावना प्रबल छ । धेरै जनाले एकै पटक युक्रेन छाड्न चाहेकाले विमानमा पनि त्यत्ति सहज छैन ।

सडकहरू जाम हुन थालेका छन् । बैङ्कमा पैसा झिक्नेको त्यस्तै भीड छ । पेट्रोल पम्पमा त्यत्तिकै लाइन लागेको छ । स्टुवार्टले अहिले युक्रेनमा थुप्रै अराजकतासमेत बढेको बताइएको छ ।

गएको आठ वर्षदेखि युक्रेनले रुसी चेतावनीको विभिन्न ढङ्गले सामना गर्दे आएको थियो । त्यो चेतावनीको स्वरूप अहिले फेरिएको छ । ‘हरेक दिन थप नयाँ चेतावनी दिइने गरिएको छ । अर्को सातासम्म रुसी सेना नै युक्रेनमा पुग्छ जस्तो लाग्न थालेको छ’ स्टुवार्टले भने ।

स्टुवार्ट यहाँ रहेको विदेशीको छाड्ने इच्छा भने नभएको बताउँछन् । त्यहाँ घर, परिवार र व्यवसायको जोहो गरिसके पछि ती सबै छाडेर जानुको मन त पक्कै पनि हुँदैन । उनी अहिले बढेको आतकसँगै यी व्यवस्थित जीवन केही समयमै ध्वस्त हुने कुरामा त्रसित छन् । उनकै विचारमा सीमा क्षेत्रको अवस्था साँच्चै डरलाग्दो र भयावह छ ।

युरोपेली युनियनले चेतावनी जारी गरेसँगै केही बेलायतीले युक्रेन छाडी सकेका छन् । मध्य युक्रेनको डिनिप्रोमा अध्ययन गरी रहेका २१ वर्षीय बेलायती हैदर अलि उनको विश्व विद्यालयले नै अन्य देशका विद्यार्थीलाई जत्ति सक्दो चाँडो देश छाड्न भने पछि युक्रेन छाड्न हतारिए । उनी २१० पाउन्डको महँगो एकतर्फी भाडामा टिकट खरिद गरेर आफ्नो घर बर्मिङघम फर्किएका हुन् ।

उनकै विचारमा युक्रेनीहरु मस्त जीवन बिताउन चाहन्छन् । तर, पछिल्लो केही दिन यता उनीहरू आत्तिएका छन् । सर्वत्र खतराको घण्टी बजेको महसुस युक्रेनीहरुले गरेका छन् । जुनसम्ममा धेरै कुरा ठिक हुने र आफ्नो अध्ययनलाई निरन्तरता दिन युक्रेन फर्कन मिल्ने आसमा अलि छन् ।

रुसी सीमाको ४० माइल पर खार्किभमा रहेका हेरी ली भने अहिले नै छाड्ने विचारमा छैनन् । उनले युक्रेनको जनजीवन अझै सामान्य नै भएको महसुस गरेका छन् । उनले बेलायतको भन्दा युक्रेनको जीवन धेरै सहज भएको महसुस गरेका छन् ।

क्याम्ब्रिजका ह्यारी युक्रेनको दोस्रो ठूलो शहरमा बसोबास गर्छन् । त्यहाँ अवस्था खराब बनेमा दक्षिण पश्चिम सीमामा रहेका अन्य देश रोमानीया, मल्दोभा या टर्की मध्य कतै जाने उनको योजना छ ।

सरोगेसीबाट बच्चा पाउने भएपछि बेन गाराट र उनकी श्रीमती एलाइस गत डिसेम्बरमा उत्तरी लन्डनबाट किभ पुगेका थिए । उनीहरूले छोराको रूपमा राफेललाई पाए। तर, तत्कालका लागि त्यो ठाउँ छाड्नका लागि उनीहरूलाई बेलायती नागरिकताको प्रमाणपत्र आवश्यक भएको छ ।

‘बेलायती सरकारले हामीलाई युक्रेन छाड्न भनी सकेको छ । तर, हामीले अहिलेसम्म आवश्यक कागजपत्र पाएका छैनौँ,’ बेनले भने । उनलाई किभको प्रशासनिक कार्यालयमा पासपोर्टका लागि बुधवार दुई घण्टा अन्तर्वार्ताका लागि तयार हुन भनिएको छ । तर, उनका लागि यो सारो झन्झटिलो हो । संसारका अहिले अर्जेन्ट पासपोर्टका लागि व्यवस्था भए पनि युक्रेनको त्यस खाले समस्याले उनी वाक्क भएका हुन् ।

बेलायत र अमेरिकासँगै जर्मनीले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न भनी सकेको छ । मस्कोले अहिले युक्रेनको सीमामा अहिले १ लाख सेना तैनाथ गरी सकेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले फोन कलमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई कुनै दुर्घटना भए त्यसको जिम्मेवारी लिनु पर्ने चेतावनी दिएका छन् । यस तनावका बिच विभिन्न चरणमा वार्ता जारी रहेकाले र विवादको समाधान निस्कन सक्ने सम्भावना पनि त्यत्तिकै छ ।

बेलायत र अमेरिकासँगै जर्मनीले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न भनी सकेको छ । मस्कोले अहिले युक्रेनको सीमामा अहिले १ लाख सेना तैनाथ गरी सकेको छ ।

यसैगरी, फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले पनि पुटिनसँगको फोन वार्तामा फोन वार्तामा विवादको समाधानका लागि भनेका छन् । उनले पनि वार्ताबाट समाधान गर्न छाडेर अन्य विकल्प रोजेमा यसको जिम्मेवारी रुसले लिनुपर्ने जनाएका हुन् ।

अहिले युक्रेनमा रुस विरोधी प्रदर्शन भइरहेका छन् । राजधानी किभमा युक्रेन सरकारको पक्षमा साथ दिँदै नारा लेखिएका प्लाकार्ड र ब्यानरसहित प्रदर्शन भएको थियो । त्यो मार्च पास गोनार नामको दक्षिणपन्थी राष्ट्रवादी समूह र राष्ट्रपति भोलोडिमिर जेलेन्सकी विरोधी मत राख्ने अभियन्ता सर्जीयो स्टेरेन्कोसहित अहिले सङ्कटको घडीमा सम्पूर्ण युक्रेनी एकजुट हुनु पर्ने आवाजसहित जुलुसमा सहभागी छन् ।

सहरको प्रमुख चोक सासा निजोल्नसकामा उपस्थित त्यो जुलुस सानो थियो । तर, यसले युक्रेनी एकबद्धताको सङ्केत गरेको थियो । किभमै कार्यरत एक महिला रुसी हरकतको विरुद्धमा सबै युक्रेनी एकजुट हुनुपर्ने समय आएको बताउँछन् । अहिले युक्रेनको तनाव यसरी बढेको छकी युक्रेनको प्राय: समुद्री नाका बन्द जस्तै भएका छन् ।

राजधानी किभमा मात्र अमेरिकी स्टेड डिपार्टमेन्टका २ सय कर्मचारी कार्यरत छन् । अमेरिकाले ती कर्मचारीलाई पनि तत्काल युक्रेन छाड्न निर्देशन गरी सकेको छ । अमेरिकाले किभमा केही थोरै मात्रामा कूटनीतिक अधिकारी तथा लेभिभमा सानो काउन्सिलर सेवा राख्ने भएको छ ।

अमेरिका, बेलायत र फ्रान्स लगायत देशका नेतृत्वले वार्तामा जोड दिइरहेको छ । परन्तु, युक्रेनमा रहेका कुनै पनि देशका नागरिकले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । 

अमेरिकी स्टेट डिपार्टमेन्टले जारी विज्ञप्तिमा त्यहाँ रहेको अमेरिकी अधिकारी मात्र होइन अन्य सबै सर्वसाधारण अमेरिकीले पनि युक्रेन छाड्न अनिवार्य रहेको बताएका छन् ।

युद्धको चपेटामा नपरेको संसार फेरि पुरानै बाटोमा फर्किन सक्ने र गम्भीर दुर्घटनाको प्रबल सम्भावना देखिएको छ ।यसलाई पार गर्न अमेरिका, बेलायत र फ्रान्स लगायत देशका नेतृत्वले वार्तामा जोड दिइरहेको छ । परन्तु, युक्रेनमा रहेका कुनै पनि देशका नागरिकले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् ।

उनीहरूका लागि तत्काल त्यस स्थान छाड्न आवश्यक देखिएको छ । तथापी, सवैका लागि घर फर्कने बाटो पनि सहज छैन । यसैको उदाहरण बनेका छन्, केन स्टुवार्ट । यस्ता अन्य थुप्रै विदेशी युक्रेनमा अलपत्र हुन सक्छन् ।

– एजेन्सीहरूको सहयोगमा