अन्तर्राष्ट्रिय

क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का गर्ने

By खबरहब

February 15, 2022

ओटावा- कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन्। खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका हुन्।

सरकारले चाल्ने कदमको क्षेत्र ‘समय-सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन्।

नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ।

सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन्। क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन्। प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए।

आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो। सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो।

सरकारले क्यानडबाट अमेरिका जाने ट्रक चालकलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो।