राजनीति

विधेयकहरूलाई समयमै कानुनको रूप दिनु आवश्यकः अध्यक्ष तिमिल्सिना

By खबरहब

February 15, 2022

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले कानुन संशोधन आवश्यक भएर ल्याएका विधेयकहरू लामो समय सदनमा अड्काएर राख्न नहुने बताएका छन् ।

मंगलबार पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका अध्यक्ष तिमिल्सिनाले विधेयकहरूलाई समयमा नै कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने कुरामा सदन सचेत रहनुपर्ने बताएका हुन् ।

बैठकमा विधेयकमाथि सदस्यहरूको छलफलपछि अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिले चार वर्षमा निकै प्रभावकारी ढंगले काम गरेको पनि बताए ।

प्रतिनिधिसभामा उत्पत्ति भएका विधेयक राष्ट्रिय सभामा पठाएको ६० दिनभित्र प्रतिनिधि सभामा फिर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा फिर्ता हुने समयअवधि निर्धारण नहुँदा विधेयक अड्किएर बसेको अध्यक्ष तिमिल्सिना बताए ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले बनाएका ऐनअनुसार सरकारले बनाउने नियमावली÷निर्देशिकाबारे संसदलाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलबार अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् ।

सामान्यतया संसद बैठकको अध्यक्षता गर्ने अध्यक्ष तथा उपाध्यक्ष ‘मिनी संसद’का रूपमा रहेका समितिहरूको बैठकमा सहभागी हुने प्रचलन छैन । तर, अध्यक्ष तिमिल्सिनाले समयअनुकुल हुँदा समितिको बैठकहरूमा सहभागी हुने सोचमा रहेको जानकारी दिए ।