राजनीति

प्रचण्डका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोप

By खबरहब

February 15, 2022

जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमालेले गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेशअनुसार फरक फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे ।

एमसीसीका बारेमा पार्टीका नेता तथा कार्यकर्ताबीच एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्काे किसिमको अभिव्यक्ति दिने दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनले आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान सत्तारुढ दलीय गठबन्धनलाई अव्यावहारिक र अप्राकृतिकको संज्ञा दिएका छन् ।

संघीय व्यवस्थाविरुद्ध रहेका चित्रबहादुर केसीको पार्टीसँग गठबन्धन समावेश गरेकोले गठबन्धन नै विचित्र प्रकारको रहेको उनले टिप्पणी समेत गरे ।