समाचार

क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर

By खबरहब

March 15, 2022

काठमाडौँ- राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसूरमा दुई जनाविरुद्ध काठमाडौँजिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँकी २३ वर्षीया बिनिता लिम्बू विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले बाइनान्स, क्वाइनबेस, प्याक्सफूल लगायतमाध्यम मार्फत रकम लोड तथा अनलोड गरी अवैध रुपमा अमेरिकी डलर सटही गरेको र क्रिप्टोमा लगानीकर्ताको रुपमा रही कार्य गरेको विभागले उल्लेख गरेको छ ।

श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआइसी एसियाबाट २ करोड ३६ लाख ६२ हजार समेत गरी कुल ७ करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागको दावी छ ।

त्यस्तै लिम्बूले एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागले जनाएको छ । दुई जनाबाट कुल ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो रकम जफत गरी ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

विभिन्न बैंकका स्टेटमेन्ट, बरामद मोबाइलमा प्राप्त विवरण, कल डिटेल लगायतका विवरण समेतका मिसिल संलग्न प्रमाणबाट उनीहरुले कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।