काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्ल्यूएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाले संयुक्त रूपमा आज काठमाडौँमा गरेको दक्षिण एसियाली महिला सम्मेलनमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
उनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने र संविधानले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।
उपराष्ट्रपति पुनले राज्यका विभिन्न निकायमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु गणतन्त्रको उपलब्धि भएको पनि बताए ।
विश्वव्यापी रूपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । उनले महिला अधिकार स्थापित गर्न निरन्तर अनुगमन र सरकारलाई आवश्यक सुझाव दिँदै आएको जानकारी दिए ।
महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका करिब सय जना सहभागी छन् ।