तस्वीर- विश्व खाद्य कार्यक्रम

अन्तर्राष्ट्रिय

 यमनमा खाद्यसंकट चुलिएको राष्ट्रसङ्घको चेतावनी

By खबरहब

March 15, 2022

काठमाडौं- केही वर्षयतादेखि द्वन्द्वमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताको खाँचो हुँदै गएको चिन्ता व्यक्त गरिएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले यमनमा चरम खाद्य संकट उत्पन्न भएको जनाएको हो । पहिलेका वर्षको तुलनामा खाद्यान्नको अभावमा परेका त्यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको बताइएको छ ।

एफएओले यमनीहरुका लागि अब केही खाद्यान्न बाँकी नरहेको भन्दै तत्कालै आवश्यकता आपूर्ति गर्नुपर्ने बताएको छ । केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा यमनमा बालबालिका बिरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।

यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका मानिसहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ ।  खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्‍वान गरेका छन् ।

द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्वन्द्वका कारण पनि पुनः यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उनले आग्रह गरेका हुन् ।

(राससबाट)