सांकेतिक तस्बिर

समाचार

उदयपुरमा बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ

By खबरहब

March 15, 2022

उदयपुर– उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नाै वर्षीया बालिका बलात्कारकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 

नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेकाे आराेप छ । घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए । 

खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेकाे खुलेको छ । पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएका हुन् । जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएकाे हाे । 

घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।