काठमाडौँ । कुरा राजधानीबाटै थालौँ । काठमाडौँलाई ‘स्मार्ट सिटी’ बनाउने मेयर विद्यासुन्दर शाक्यको घोषणालाई पाँच दिनदेखि उठ्न नसकिरहेको फोहरले जिस्क्याइरहेको छ ।
२०७४ जेठमा मेयर निर्वाचित हुनासाथ ‘सय दिनमा एक सय दुई वटा काम गर्ने’ दाबी गरेका शाक्यले काठमाडौँलाई स्मार्ट सीटी बनाउन न त सकेनन् नै, बरु जनता झुक्याउन भने उनी ‘स्मार्ट’ नै देखिए ।
चुनावमा आकर्षक नारा, तिलस्मी घोषणापत्र र अनेक सपना देखाएर जनतालाई भुलभुलैयामा पार्ने, तर चुनाव जितेपछि आफैले अघि सारेको घोषणपत्र फेरि पल्टाएरसमेत नहेर्ने । ‘मेट्रो सिटी’ र ‘स्मार्ट सिटी’को सपना देखाउने मेयर शाक्यका योजना अहिले आएर हावादारी साबित भएका छन् ।
काठमाडौँमा फोहरको समस्या उस्तै छ । हप्तौँसम्म मुख्य बजार क्षेत्रकै फोहर उठ्न नसक्दा राजधानीवासी नाक थुनेर महानगरपालिकालाई सराप्दै हिँडेको देखिन्छ । मेयर शाक्यले फोहोरको दीर्घकालीन समाधान खोज्न त सकेनन्, तर काठमाडौँलाई स्वच्छ, धुवाँ र धुलोमूक्त शहर बनाउने नाममा जेट र ब्रुमर खरिद गरेर टालटुले नीति लिए ।
काठमाडौंमा धरहरा र रानीपोखरीको पुनर्निर्माण भयो । तर, यो महानगरपालिकाको पुरुषार्थ हैन । यो त केन्द्र सरकारले आफ्नै बजेटमा बनाएको हो । बरु महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनर्स्थापना भने अहिलेसम्म गर्न सकेको छैन । ‘ग्रिन एण्ड क्लिन काठमाडौँ’को नारा दिएका शाक्यले जताततै रुद्राक्षको बिरुवा रोप्छु भन्दै गफ पनि लडाए । तर, खै ? अब काठमाडौँवासीले शाक्य या एमालेबाट अब मेयरमा खडा हुने उम्मेदवारको कानमै मुख लगेर यो प्रश्न सोध्नुपर्छ ।
‘साइकल सिटी महानगर’, ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ अनि ‘सही समय सही ठाम, नो ट्राफिक जामको अभियान’जस्ता कार्यक्रम घोषणपत्रमै सीमित रहे । मेयर शाक्यले चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा बाल मनोरञ्जन र बृहत् प्रदर्शनी केन्द्र निर्माण गर्छु भनेका थिए, त्यसले पनि हावा खायो ।
खै कहाँ छ ? ‘भोकरहित जनता शोकरहित महानगर’ ? कोरोनापीडितलाई खुलामञ्चमा लहरै राखेर गैर सरकारी संस्थाले भात खुवाउँदा उल्टै महानगरले रोक्यो । तर, भोकरहित महानगरको शाक्यको नारा फजुल साबित भयो । ‘सुपथ मूल्यको मेयर फुड पार्लर’ खोल्छु भन्थे, त्यो पनि सेलायो ।
भन्न त मेयरले ‘काठमाडौँ महानगर झिलिक्क ः घरघर टिलिक्क’ नभनेका हैनन्, तर उनको घरजस्तो झिलिक्क र गालाजस्तो टिलिक्क चाहिँ काठमाडौं हुन सकेन । सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकका लागि दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र/व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि खोल्ने भन्दै चुनावमा खुबै गफ लडाएका थिए, त्यो पनि पुरा गरेनन् ।
नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउने, फोहोर व्यवस्थापन गर्दै जैविक मलको प्लान्ट खडा गर्ने, महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ बनाउने, गाइडसहित पर्यटक बस चलाउने आदि उनका वाचा पनि पुरा भएनन् ।
आहा ! कति आकर्षक नारा, ‘कौसी खेती तथा गार्डेन : घरघरमा जैविक तरकारी खेती’ । यसका लागि बाकस, मल, प्लाष्टिक टनेलसहित अनुदान दिने कुरा गरे, तर लागू भएन । मुख्य कुरा डेरामा बस्ने नागरिकको थियो । उनीहरुको डेरा बसाइ सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने डम्फु पिटे, तर घरधनीहरुको चँगुलमा परेर उनको यो कार्यक्रम फोस्सा साबित भयो । ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’को हौवा पनि हरायो ।
आफ्नो कार्यकालमा जनता सामु गरेका बाचा पुरा गर्न नसकेका मेयर शाक्य आसन्न स्थानीय निर्वाचनमा पुनः मेयरका दाबेदार छन् । उनलाई एमालेले या काठमाडौँवासीले पुनः मेयर बनाउनुपर्ने कुनै आधार देखिदैन । यसर्थ एमालेबाट केशव स्थापितको नाम पनि मेयरका सम्भावित उम्मेदवारका रुपमा चर्चामा छ, जसले विगतमा काठमाडौंको मेयर हुँदा एकाध सार्थक काम गरेका थिए ।
केशव स्थापितमा भिजन छ, जोश पनि छ, तर उनी पनि ‘गफ दिन’ एमाले अध्यक्ष केपी ओलीभन्दा कम माहिर खेलाडी हैनन् । केही महिनाभित्रै ‘काठमाडौंलाई दुबईजस्तो बनाइदिन सक्छु’ भन्ने ढँगले गफ दिन सिपालु भए पनि स्थापित अनेक फन्डा गरेर विवादमा आइरहने पात्र हुन् । अतः अहिले एमालेका हकमा मेयरमा खडा गर्न लोकप्रिय र विश्वास गर्न लायक उम्मेदवारकै संकट छ ।
एमालेलाई ‘मुश्किल छ पोखरामा’
गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेललाईसमेत परास्त गर्दै एमालेका मानबहादुर जिसी ६० हजार एक सय १८ मतका साथ पोखरा महानगरपालिकाको मेयर विजयी भएका थिए । तर, सेती नदी र अन्य प्राकृतिक सम्पदा माफीयालाई सुम्पनुबाहेक जिसीको कार्यकालमा पोखराको काँचुली फेर्ने कुनै काम भएन ।
मेयर जिसीले चुनावताका पोखराबासी सामु अनेक तिलस्मी योजना अघि सारेका थिए । महानगरका कुनैपनि ठाउँमा बाटो बिग्रेमा २४ घण्टाभित्र बनाइसक्ने उनको फुर्तीफार्ती कम थिएन । ‘समृद्ध महानगर, सुखी महानगरपालिकाबासी’ बनाउने घोषणापत्रको नारा एमाले अध्यक्ष केपी ओली सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा झैं अहिले अलपत्र छ ।
प्रदेश र महानगरस्तरीय दुई वटा बसपार्क निर्माण गर्ने, पोखरा लेखनाथ महानगरका ३३ वटै वडालाई जोड्नेगरी सडक सञ्जाल बिस्तार गर्ने, पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरालाई स्मार्ट सीटी बनाउने, स्मार्ट कार्ड वितरण गर्ने, सडकमा जताततै सौर्य बत्ती बाल्ने आदि उनका नारा पनि ‘चुनावी स्टन्ट’मै परिणत भए ।
महानगरका आफ्नै विश्वविद्यालय, प्राविधिक शिक्षालय, सुविधासम्पन्न अस्पताल, वडा–वडामा स्वास्थ्य चौकी, अनुसन्धानशाला, विभिन्न ठाउँमा आकर्षक बगैँचा, सफा फुटपाथ र सार्वजनिक शौचालय आदि सपना पनि ‘गफाडीको गफ’मा परिणत भए । महानगरपालिकाले अहिलेसम्म एउटा ल्याण्डफिल साइटको व्यवस्थापन गर्नसमेत सकेन ।
फेवाताल अतिक्रमण बढीरहेकै छ । ‘सकारात्मक सोच’को दुहाइ दिनेहरुले होटल र रिसोर्टका नाममा फेवाताल अतिक्रमण गर्न थालेको वर्षौं भइसक्यो, तर मेयर जिसीले फेवाताल किनारामा बनेका संरचना हटाउनतर्फ या त साहस गरेनन्, या अतिक्रमणकारीसँगै मिलेमतो गरे । बेलाबेलामा केही अतिक्रमित संरचना भत्काएजस्तो देखाए पनि अतिक्रमणको सिलसिला रोकिएन ।
मेयर जिसीले फेवाताल फराकिलो बनाउने योजना ल्याएका थिए । २०७५ माघमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्री विकास लम्साल, सांसद राजीव पहारीलगायतले फेवातालको माटो निकाल्ने नाटक पनि गरे । बस, प्रचारबाजी व्यापक भयो, तर अहिले पनि फेवातालमा माटो जमेको जम्यै छ ।
महानगरका नाममा सर्वोच्च अदालतले फेवाताल संरक्षणको निर्देशन दिएको थियो । संरक्षणको मापदण्ड अनुसार अतिक्रमण रोक्न अदालतले २०७५ वैशाख १६ मा निर्देशन दिएको भए पनि मेयर जिसीले तालको किनार ६५ मिटर हुनुपर्ने मापदण्ड घटाएर ३५ मिटर बनाए । यसबाट उनी अतिक्रमणकारीसँग मिलेको स्पष्टै हुन्छ ।
फेवाताल पुरिएर बनेको १६२ रोपनी जमीनमा पनि भूमाफीया सक्रिय भयो । सो जग्गा ‘रिच पोखरा कन्स्ट्रक्सन कम्पनी’लाई दिइयो । यसको व्यापक विरोध भइरहेको छ । फेवाताल संरक्षणका लागि गेग्रान रोक्न हर्पन खोलामा ८ करोड रुपैयाँमा बनाइएको बाँध हस्तान्तरण नहुँदै भत्किएपछि यसको गुणस्तरमाथि प्रश्न उठिरहेकै थियो, सोही बाँधको ढुंगा–गिटी निकाल्ने ठेक्का बतास समूहलाई दिएपछि मुद्दा अदालतसम्म पुग्यो ।
रामघाटमा सेती नदी थुनेर ३५ वर्षसम्म नदीजन्य सामग्री निकाल्न बतास समूहलाई दिने, पाताले छाँगो, सेती खोंच लगायत प्राकृतिक सम्पदा ठेक्का लगाउने काम भएपछि जनतामा महानगरको मौजुदा नेतृत्वप्रति तीव्र आक्रोश छ ।
अब आउँछ पोखराको बीचमै रहेको फिर्के खोला अतिक्रमणको मुद्दा । महानगरले आर्थिक वर्ष २०७५/०७६ को बजेटमै ‘फिर्के कोरिडोर विकास’को योजना ल्याएको थियो । फिर्के खोलाको प्रदूषण हटाएर दायाँबायाँ पैदल बाटो बनाउने योजना बमोजिम २०७५ असार १ मा कोरिडोर शिलान्यास गरियो । त्यसबेला अतिक्रमित संरचना भत्काउन भन्दै मेयर जिसीले आफैंं डोजर चलाएर नौटंकी देखाउँदा पाँच जना घाइतेसमेत भएका थिए । अहिलेसम्म यो योजना शिलान्यासमै सीमित छ ।
यति मात्र हैन, मेयर जिसीले पृथ्वीचोकबाट लखन थापाको सालिक हटाउन २०७४ असोज ९ मा डोजर आतंक मच्चाए । प्रथम शहीदको सालिक हटाएकोमा मगर समुदाय मात्र हैन, अधिकांश पोखरावासी आक्रोशित भए । यसले पोखरामा जातीय सद्भाव खलबलिने संत्रास बढेपछि लखन थापाकै सालिक राख्न मेयर बाध्य भएका थिए ।
मेयरले आगो झोंसिसकेका थिए, अब क्षेत्री समाज विरोधमा उत्रियो । लखन थापाको सालिक हटाएर पृथ्वीनारायण शाहको सालिक राख्नुपर्ने मागका साथ आन्दोलन भयो । मेयरले पृथ्वीनारायण शाहको सालिक राख्न सम्झौता पनि गरे । अहिले भने पृथ्वीचोकमा लखन थापाकै सालिक छ ।
यसरी विवादास्पद काममा संलग्न भएरै मेयर जिसीको कार्यकाल बित्यो । यसपाली अस्वस्थताका कारण जिसी उम्मेदवार हुनेछैनन् । एमालेको विरोधमा गठबन्धन कसिलो बन्दैछ । अतः एमालेलाई पोखरामा पनि जनतालाई आश्वस्त तुल्याउने मेयर उम्मेदवार अघि सार्ने चुनौती छ । सोही कारण पनि पहिले सजिलै जितेको भएपनि यसपटक एमालेलाई मुश्किल छ, पोखरामा ।
भरतपुरमा ‘रंगशाला’ हेर्दा हुन्छ
भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएर माओवादीकी रेणु दाहालले एउटा इतिहास रचिन् । खासगरी बा अध्यक्ष रहेका बेला उनले कांग्रेसकै भोट पाएर बस, उनले यो रेकर्ड कायम गर्नुबाहेक अरु कुनै उपलब्धि महानगरवासीले देख्न पाएनन् ।
देशकै मध्य भू–भागमा रहेको भरतपुरमा विकासका अनेक सम्भावना थिए । तर, त्यसलाई साकार पार्न क्रान्तिबाट आएको भनिएको दलका मेयर असफल भइन् । उही, अहिले चर्चित रहेको लोकगीत झैं, ‘जुनै जोगी आए पनि कानै चिरेका’ भने झैं ।
हुन त, मेयर रेणुले भरमार आकर्षक योजना नल्याएकी हैनन् । महानगरमा चक्रपथ र लिंक रोड बनाउने भन्दै भरतपुरवासीलाई चकितै पारिन् । केरुङदेखि ठोरीसम्म रेलमार्गको ठूलै गफ लडाइन् । नारायणी नदीमा तीन वटा पक्की पुल बनाउने गुड्डी नै हाँकिन् । देवघाटदेखि मौलाकालिकासम्म केबुलकार निर्माण गर्ने धक्कु लगाइन् । अनि देवघाटदेखि त्रिवेणीसम्म जलमार्ग सञ्चालनको गफ पनि दिइन् ।
सुकुम्बासी समस्या समाधान र कृषि पाठशाला आदि योजना ल्याएकी मेयर रेणुको ध्यान चाहिँ हास्यकलाकार धुर्मुुस सुन्तलीले बनाउने अन्तर्राष्ट्रिय रंगशालातिर केन्द्रित भयो । धुर्मुस सुन्तलीकै आडमा चर्चामा आउन उनले रंगशालाको तामझामका साथ शिलान्यासदेखि रकम सहयोगको पहल पनि गरिन् ।
आखिर, कृषि विश्वविद्यालयको जग्गा हडपेर बनाउन लागिएको यो रंगशाला विस्तारै भग्नावशेषमा परिणत हुने खतरा छ । भरतपुरको विकासको नमुना हेर्न यही अलपत्र रंगशाला हेर्दा हुन्छ । हचुवाका भरमा हास्य कलाकारको भरमा यस्ता विकास योजना सुम्पदाको परिणति स्पष्ट भएको छ ।
काठमाडौं र पोखरामा झैँ भरतपुरको समस्या पनि फोहरमैलाकै हो । अहिलेसम्म मेयर दाहालले वाचा गरे अनुसार महानगरपालिकाको आफ्नै ल्याण्डफिल्ड साइट निर्माण हुन सकेन । सरकारले वडा नम्बर २ मा १५ बिगाहा जग्गा दिइसक्दा पनि महानगरपालिकाले यसतर्फ प्रक्रिया अघि बढाउन सकेन ।
सुकुम्बासी समस्या समस्या उस्तै छ । चुनावको मुखमा बुवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै मिलेर चितवनका सुकुम्बासीलाई जग्गा बाँडेको हौवा रेणुले चलाउँदै आएकी छिन् । कार्यकालभरि सुकुम्बासी समस्याको दीर्घकालीन समाधान नगर्ने, तर चुनावको मुखमा आएर जग्गा बाँडेको नाटक गर्ने प्रवृत्ति देखिन्छ ।
अहिले चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना सुकुम्बासीले लालपूर्जाको माग गरीरहेका छन् । माडीमा ५ हजार ४ सय ५६ र कालिका नगरमा ५ हजार ५ सय ५९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएको देखिन्छ ।
तर, मेयर दाहालले भने लालपुर्जाको साटो निस्सा बाँड्दै चुनावी चलाखी गरेको देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वभूमिसुधार मन्त्री विक्रम पाण्डेका अनुसार चितवनमा माओवादीले लालपूर्जा बाँडिएको भन्दै सुकुम्बासीमा भ्रम छरिरहेको छ । उनका अनुसार चितवनमा निस्सा बाँडिएको हो, लालपुर्जा होइन । निस्सा भनेको ऐलानी जग्गामा बसेको प्रमाण मात्र हो ।
भरतपुर महानगरपालिकाभित्र तीन ठाउँमा आकाशे पुल राख्ने योजना पनि अलपत्र छ । भरतपुरका सडकमा सिसीटिभी र ट्राफिक लाइट राख्ने योजनाले समेत पूर्णता पाएन । मेयर दाहालको ‘स्मार्ट लाइट’को गफ पनि हावादारी भयो ।
मन्दिर, पार्क, पोखरी, खेल मैदान, जेष्ठ नागरिक मिलन केन्द्र र अस्पतालमा निशुल्क ओपीडी, अनलाइन भुक्तानी, ‘वान रोड वान स्वीच’ कार्यक्रम, केही कृषकलाई धान रोप्ने मेसिन र बोरीङ बितरण आदिमा केही सफलता मिलेकै हो । तैपनि समग्रमा भरतपुरको गुणात्मक विकासमा मेयर रेणुको कार्यकाल सफल भएन । तैपनि उत्कृष्ट महानगर’को सूचीमा परेकोमा ‘दाहालकी छोरी’ मख्ख छिन् । यो त उही ‘बोल्न नसक्नेहरुको देशमा घाँटीमा डल्लो हुने तन्नेरी’ भए झैं हो ।
यसपाली पनि रेणु दाहाललाई नै पुनः मेयर बनाउने गठबन्धनको तयारी छ । तर, स्थानिय जनतामाझ खासै लोकप्रिय हुन नसकेकी रेणुलाई नेपाली कांग्रेसका कार्यकर्ता पंक्ति र पार्टीले भोट नहाल्ने बताइसकेको छ ।
गठबन्धनको उच्चस्तरको उर्दी मानेर कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार खडा नहोला, तर रेणुकै बक्सामा कांग्रेसजनको भोट नखस्ने खतरा भने घनिभूत छ, जुन माओवादी केन्द्रका अध्यक्ष दाहालको टाउको दुःखाई हो । यही रनाहामा परेकाले हुनसक्छ, अध्यक्ष दाहाल चितवनमा सुकुम्बासीलाई निस्सा बाँड्दै लालपूर्जा बाँडेको हौवा चलाइरहेका छन् । अनि ‘प्रचण्डलाई रेणुका बा भनेर चिन्न थालेको’ भाषण गर्दै हिंडीरहेका छन् ।
पुत्रीको बखान पिताले जतिसुकै गरे पनि स्थानियस्तरमा रेणुको छवि बदनाम छ । मतपत्र च्यातेर मेयर भएको बदनामीलाई उनले आफ्नो कार्य सफलताले मेट्न सक्थिन् । भरतपुरबासी सामु आफ्नो अपरिहार्यता साबित गर्न सक्थिन्, तर यसमा असफल भइन् ।
भरतपुरमा एमालेका तर्फ खडा हुने घोषणा गरिएका विजय सुवेदीलाई हराउनु रेणुका लागि ‘केरुङबाट चितवनसम्म रेल ल्याउने’ काम झैं जटिल हुने देखिन्छ । कांग्रेसबाट रेणुको पक्षमा भोट नखस्ने खतरा र स्वयं सुवेदीको ‘बोल्ड’ व्यक्तित्वका कारण भरतपुरको चुनावले दाहाल परिवारलाई ठूलै झट्का नदेला भन्न सकिन्न ।
वीरगंजमा ‘दलबदलु’ मेयर
अब लागौँ, भारतसँग सीमा जोडिएको र आर्थिक कारोबारले भरिपूर्ण वीरगंज महानगरतिर । गएको निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर निर्वाचित विजयकुमार सरावगी हालै जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमाले प्रवेश गरेका छन् । यो दल बदलबाट स्पष्ट हुन्छ, मेयर सरावगीले आफ्नो कार्यकालमा खासै राम्रो काम गरेनन्, त्यसैले यसपालि पुनः मेयरमा जित्न उनलाई एमालेजस्तो संगठनको ओत चाहियो ।
जुन दलबाट मेयर जितेको हो, त्यही दलबाट फेरी उम्मेदवार बन्न आफूले राम्रो काम गरेको हुनुपर्छ । सरावगीको कुरा अर्कै छ । यसपालि मेयरमा जित्न सकिन्छ भन्ने विश्वास उनी स्वयंमा छैन । जसरी पनि मेयर हुन दल बदलसम्म गर्नेले महानगरमा सार्थक काम नगर्नु स्वभाविकै हो ।
आफूसँग ‘भगवान’ले दिएको सबैथोक भएकाले सेवा–सुविधा नलिने घोषणा गरेका सराबगीले मेयर भएको एक वर्षपछि सुरक्षाको बाहनामा १ करोड ४५ लाख रुपैयाँको पजेरो चढ्न थाले । यहीँनेरबाट उनको कथनी र करनीमा अन्तर देखिन थाल्यो ।
वीरगंजमा ढल निकासको समस्या उस्तै छ । ढल निकास नहुँदा पुराना र नयाँ बस्तीहरू हिलाम्य हुने गरेका छन् । सिर्सिया नदीमा बाढी आउनासाथ बजार क्षेत्र जलमग्न हुन्छ । सिर्सिया नदी किनारमा पक्की सडकसहित नाला निर्माण गर्ने र फोहोर पानी प्रशोधन केन्द्रमा पठाउने मेयरको योजना अलपत्र छ । सुव्यवस्थित सहरी विकास कार्यक्रमले हावा खायो । शैक्षिक सुधारका योजनाको बेहाल छ । स्मार्ट क्लास त भनियो, तर यो भ्रष्टीकरणको माध्यम बन्यो ।
सीमावर्ती क्षेत्रको प्रमुख व्यापारीक नाका वीरगंजमा ट्राफिक जामको उस्तै समस्या छ । दुर्घटना बढिरहेकै छन् । ओभरहेड ब्रिज निर्माणको मेयरको योजना पनि टायरको हावा फुस्किएझैँ फुस्कियो । ‘अबकि बार विकास हमनीके सरोकार’को नारा साकार हुन सकेन । बेरोजगारी अन्त्य, वित्तीय सबलता, विद्यालय, बिजुली र बाटो निर्माणका प्रतिबद्धता कागजमै सीमित भए ।
‘बकरी से ब्याचलर तक’को नारा मानौं बाख्राले खाइदियो । ‘बेटी बचाई बेटी पढाइ’को नारा पनि हौवा मात्र साबित भयो । चक्रपथ, ओभर हेड ब्रिज, सिर्सिया करिडोर, ५ सय बेड क्षमताको होस्टलको निर्माण अनि लामखुट्टेको सफाया आदि बाचा पुरा भएनन् ।
पक्कै, कोरोना महामारीका बेला कोभिड अस्पताल, आइसोलेसन सेन्टर र अस्थायी अस्पताल सञ्चालनमा आएकै हो । निजी क्षेत्रसँगको सहकार्यमा ‘ल्यान्ड फिल्ड साइट’मा फोहर व्यवस्थापनमा मेयर सफल भएकै हुन् । जनप्रतिनिधिले पाउने तलब ‘मेयर कल्याणकारी कोष’मा जम्मा गराएकै हुन् ।
मेयर सरावगीले यस्ता केही सकारात्मक काम गरेको भए पनि भ्रष्टाचारको कलंक उनीमाथि लाग्दै आएको छ । शिक्षा, स्वास्थ्य, सडक निर्माणदेखि अन्य विभिन्न क्षेत्रमा संस्थागत भ्रष्टाचार बढेको गुनासो व्यापक छ ।
विराटनगरमा विदेश घुम्दै ठिक्क
विराटनगरमा कांग्रेसका तर्फबाट निर्वाचित मेयर भीम पराजुलीका बाचा पनि अधिकांश अधुरै रहे । पक्कै यसबीचमा मेयर पराजुलीले स्वतन्त्रता सेनानी एवं रेडियो नेपालका संस्थापक तारणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चारग्राम बनाए ।
आरोहण गुरुकुल थिएटरको निर्माण गराए । महानगर आवास कार्यक्रमअन्तर्गत ३२ सुकुम्वासीहरूका लागि आवास निर्माण गरिदिए । यस्ता केही सकारात्मक काम गरेको भए पनि विराटनगरलाई पर्यटन हब बनाउने दिशामा खासै पहल उनीबाट भएन । उनी पनि जनता झुक्याउन ‘स्मार्ट मेयर’ साबित भए ।
जोगवनी–किमाथांका सडक निर्माणको योजना अघि बढेन । उद्यमीहरूको शहर विराटनगरमा सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने वाचा पनि अलपत्रै रह्यो । सडक, बिजुली, पानी, ढल निकासको अवस्था उस्तै दयनीय छ ।
सडकमा खनेर छाडिएका खाल्डाकै जगजगी भयो, कार्यकालभरि । घर–घरमा रोजगारीको नारा हावादारी भयो । स्वरोजगार कार्यक्रमका साथै रिक्सा, ठेला, इ–रिक्सा तथा टेम्पो चालकका लागि सहुलियतपूर्ण ऋण र बिमाको व्यवस्था गर्ने वाचा पनि पुरा भएनन् ।
‘ताररहित विराटनगर’ र ‘बन्द–हड्ताल रहित महानगर’को गुड्डी हाँकेका मेयर पराजुलीको तार भने विदेश भ्रमणमै जोडिइरह्यो । मेयर भएपछिको अधिकांश समय उनको विदेश भ्रमणमै बित्यो । भारत, चीन, श्रीलंका, मलेसिया, अमेरिका, अष्ट्रेलिया र जापानलगायतका देशमा निम्तो पाउनासाथ गइहाल्ने प्रवृत्ति उनमा देखियो । विदेश भ्रमण मोहका कारण विकासका कामले गति लिन सकेनन् ।
चिरिबाबुले देखाएनन् चमत्कार
नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाको मेयर निर्वाचित चिरिबाबु महर्जनले पनि पुल्चोकदेखि कुपन्डोलसम्म फ्लाइओभर र मोनोरेल बनाउने घोषणा गरेका थिए । उनले विद्युत्, टेलिफोन र केवल तार भूमिगत गर्ने वाचा पनि गरेका थिए । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको सहर ललितपुरलाई आधुनिक सुविधायुक्त बनाउने उनको वाचा पनि पुरा भएन ।
सहरलाई साइकलमैत्री र वातावरणमैत्री बनाउन उनले सकारात्मक पहल गरेकै हुन् । तर सहरीकरणको व्यवस्थापनमा उनी चुके । सांस्कृतिक पक्ष जोगाउँदै आधुनिक सहर निर्माणमा महानगरपालिकाले अवसर गुमाएको गुनासो छ ।
जाउलाखेल र लगनखेलका तरकारी बजारमा कोल्डस्टोर, लगनखेलमा व्यापारिक भवन, सुन्दरीघाटमा कान्जीहाउस, पाटन अस्पताल र साझा भवनअगाडि आकाशे पुल, पुल्चोक, मंगलबजार, हात्तीवन, हरिसिद्धि, ठैब, सन्तानेश्वर, नागदह, बज्रबाराही, ठेंचो, सुनाकोठी, बुंगमती, खोकना, सैंबु र पुल्चोकसम्म ‘पर्यटक चक्रपथ’ बनाउने चिरिबाबुको सपना पुरा भएन ।
ललितपुरका चित्रकला, काष्ठकला, प्रस्तर मूर्तिकला र धातुकलाको उत्थानमा पनि मेयरले खासै केही नगरेको देखियो । कलाकारको सीप र क्षमता विकास तथा उत्पादित कलाको बजार व्यवस्थापनमा कुनै विशेष योजना नआएको गुनासो छ ।
विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ घोषणा गरे पनि महानगरले यस दिशामा कुनै योजना ल्याएन । सबै वडामा पुस्तकालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धापाखेलमा आयुर्वेदिक अस्पतालको योजना साकार भएन ।
काठमाडौं महानगरका मेयरझैं ललितपुरका मेयर विवादमा परेनन् । उनले काम फिटिक्कै नगरेका भने हैनन् । केही प्रशंसालायक काम भएका छन् । भुकम्पले क्षति भएका पुरातात्विक सम्पदाको पुनर्निर्माण पनि सहज ढंगले भयो । पाटनको भीमसेन मन्दिरसँगै ८५ वटाभन्दा बढी सार्वजनिक पाटी–पौवाको पुनर्निर्माण भएको छ । मेयरको बढी ध्यान सांस्कृतिक सम्पदाको संरक्षणमा बढी केन्द्रित भएको देखिन्छ ।
मंगलबजार र पाटन दरबार क्षेत्रको डुबान समस्या समाधान हुँदैछ । ‘ब्लु’ परियोजना अन्तर्गत पुराना पोखरी र ढुंगेधाराको पुनर्निर्माण भएको छ । पुराना चार वटा कमल फुल्ने पोखरी र करिब ७० वटा ढुंगेधारा ब्युँताउन पुरानो राजकुलोमार्फत ललितपुरमा पानी ल्याइँदैछ ।
सडकमा स्मार्ट लाइट सिस्टम, मुख्य सडकमा सीसीटीभी, साइकल लेनको विकासको प्रशंसा भइरहेको छ । साझा यातायातलाई चार वटा साना विद्युतीय बस चलाउन बजेट दिइएको छ । सार्वजनिक जग्गाका अग्ला पर्खाल हटाएर तारबार राख्न थालिएको छ । महानगरका सबै ८१ हजार घरलाई ब्लक नम्बर वितरण गरिएको छ ।
मेयर चिरिबाबु देशका अन्य पाँच महानगरका मेयरको तुलनामा अब्बल मेयर साबित भए पनि ललितपुरको ऐतिहासिक, पुरातात्विक र प्राचीन महत्वलाई नगदीकरण गरेर नगरको चौतर्फी विकासमा उल्लेखनीय काम गर्न भने नसकेकै देखिन्छ । दीर्घकालीन गुरुयोजनाका साथ विकासको दरिलो आधार खडा गर्न उनको पहल देखिएन ।