तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी

By खबरहब

April 15, 2022

काठमाडौं– पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी फौजको दाबी छ ।

यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ ।

पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ ।