तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

क्रिकेट

उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो

By खबरहब

April 15, 2022

काठमाडौं- उत्तर प्रदेश ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो ।

१ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ९ रनमा समेटियो । नेपाल आर्मीका लागि कुशल मल्लले ३५ रन र भीम सार्कीले ११ रन जोडे ।

नेपाल आर्मीलाई सस्तैमा समेट्न उत्तर प्रदेशका तेजस सिंह र विपिन चन्द्रले ३–३ विकेट, दिव्य सिंहले २ तथा सन्दीप मित्तल र प्रिन्स शाहीले १–१ विकेट लिए । 

टस जितेर ब्याटिङ रोजेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका लागि सन्दीप मित्तलले ४३ रन र सन्नी सिंहले २६ रन जाडे ।

नेपाल आर्मीका लागि सोमपाल कामीले ३ तथा शाहब आलम र सुसन भारीले २–२ विकेट लिए ।

उत्तर प्रदेशका तेजस सिंह म्यान अफ द म्याच घोषित भए । तेस्रो भएको उत्तर प्रदेशले ५० हजार रुपैयाँ पुरस्कारराशी प्राप्त गर्यो । चौथो स्थान प्राप्त गरेको नेपाल आर्मीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।