तस्वीर- ग्लोबल टाइम्स

अन्तर्राष्ट्रिय

समुद्री गस्तीका लागि चीनद्वारा अत्याधुनिक जे २० लडाकु विमान तैनाथ

By खबरहब

April 15, 2022

काठमाडौं– चीनले समुद्रमा गस्तीका लागि भन्दै अत्याधुनिक जे २० लडाकु विमान परिचालन गरेको । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले ‘चीनको हवाई सुरक्षा तथा सामुद्रिक हितको रक्षा गर्न’ जे २० लडाकु विमान परिचालन गरिएको जनाएको हो ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार जे २० लडाकु विमानलाई पूर्वी तथा दक्षिण चीन सागरमा तैनाथ गरिएको छ । दुबै समुद्री क्षेत्रमा विभिन्न मुलुकहरूसँग सार्वभौमिकताको विवाद छ ।

यता जे २० निर्माता कम्पनीका प्रवक्ता रेन युकुनले भने ‘नियमित तालिम’ का क्रममा लडाकु विमान परिचालन गरिएको बताएका छन् ।

यसअघि रुसी इन्जिन जडान गरिएको जे २० लडाकु विमानमा पछिल्लो समय भने चीनमै निर्मित इन्जिन प्रयोग हुने गरेको सीएनएनले जनाएको छ ।

केही साताअघि अमेरिकी सेनाको प्रशान्त क्षेत्र वायुसेना बलका कमाण्डर जनरल केनेथ विल्सबाकले चीनको जे २० विमान पूर्वी चीन सागरमा अत्याधुनिक अमेरिकी लडाकु विमान एफ ३५ को सामुन्ने आएको जानकारी दिएका थिए ।