राजनीति

यस्ताे छ सुनिता डंगोलकाे काठमाडौँ विकासका आठ खम्बे विकास मोडल

By खबरहब

April 15, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका आठ खम्बे मोडल सार्वजनिक गरेकी छन् । उनले शुक्रबार काठमाडौं विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन् ।

३० वैशाखमा हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाडौँलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।

पूर्व मिस नेवाः समेत रहेकी डंगोलले प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ्य बिमाको प्रबन्ध मिलाउनेदेखि लिएर युवाहरूकाे ब्रेनड्रेन रोक्ने योजनासमेत अघि सारेकी छिन् ।