अडियो सुन्नुहोस्ः
क्षतिग्रस्त रुसी युद्धपोत कृष्ण सागरमा डुब्यो
युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो ।
बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजाने क्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ ।
बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा युद्धपोत युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी क्षतिग्रस्त भएको समाचार सार्वजनिक भएको थियो ।
युक्रेनले भने नेप्चुन नामक क्षेप्यास्त्र आक्रमणका कारण युद्धपोत ध्वस्त भएको जनाएको छ । यद्यपि रुसी पक्षले भने युद्धपोतमा आगलागी भएको स्वीकार गरेपनि के कारणले आगलागी भएको हो भन्ने खुलाएको छैन ।
बीबीसीका अनुसार रुसी रक्षामन्त्रालयले युद्धपोतमा लागेको आगोले युद्धपोतको गोलीगठ्ठा भण्डारणमा बिष्फोट भएको बताउने गरेको छ । आक्रमणका बेला युद्धपोतमा ५१० चालक दलका सदस्य रहेको युक्रेनी पक्षको भनाइ छ ।
गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेको प्रारम्भिक केही दिनहरूमा मोस्कवा युद्धपोतले कृष्णसागरको तटमा रहेको युक्रेनको स्नेक टापुमा रहेका रक्षकलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए । प्रस्तावको जवाफमा टापुका रक्षकहरूले मोस्कवालाई ‘नर्क जान’ भनेका थिए ।
१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।
युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
युद्धपोत डुबाएको बदलामा रुसद्वारा युक्रेनी राजधानीमा आक्रमण
युक्रेनले आफ्नो युद्धपोत डुबाएको बदलामा रुसले राजधानी किभमा रहेको क्षेप्यास्त्र निर्माण कारखानामा आक्रमण गरेको दाबी गरेको छ । विज्ञप्ति जारी गर्दै रुसी रक्षामन्त्रालयले किभस्थित क्षेप्यास्त्र निर्माण तथा मर्मत कारखानामा आक्रमण गरेको जनाएको हो ।
‘किभमा रहेको राष्ट्रवादी सत्ताबाट रुसी भूमिमा कुनै पनि आतंककारी आक्रमण गर्ने वा विनाश निम्त्याउने गतिविधिको प्रतिक्रियास्वरूप किभका निशानामा क्षेप्यास्त्र आक्रमणको संख्या र स्तर बढ्दै जानेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसी आक्रमणबाट किभमा शुक्रबार सुनिएका विष्फोटका आवाज दुई साताअघि रुसी फौज किभबाट पछि हटेयताकै सबैभन्दा शक्तिशाली रहेको रोयटर्सले जनाएको छ ।
कार मर्मत गर्ने पसल चलाउने एक प्रत्यक्षदर्शीले रोयटर्सलाई जनाएअनुसार उनले औद्योगिक भवनहरूमा तीन वटा आगोको लप्का देखेका थिए । पछि अग्नि नियन्त्रकहरूले सो भवनमा लागेको आगो निभाएका थिए ।
‘भवनमा आगो लागेको थियो र म मेरो कारको पछाडि लुक्न गएँ ।’ ३८ वर्षे प्रत्यक्षदर्शी किरिल किरिलोले रोयटर्सलाई भने ।
५० दिनसम्म देशको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ
रुसले युक्रेनमाथि आक्रमण थालेको ५० दिन पूरा भएको छ । यसबारे सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ५० दिनसम्म रुसी आक्रमणबाट रक्षा गर्नु उपलब्धि भएको टिप्पणी गरेका छन् ।
बीबीसीका अनुसार आक्रमणका बेला रुसले ५ दिनको समय दिएकोमा ५० दिनसम्म मुलुकको रक्षा गर्नु उपलब्धि भएको उनको टिप्पणी छ ।
‘तर उनीहरूलाई युक्रेनीहरू यतिसम्म बहादुर छन् भन्ने थाहा थिएन‘ ।’ सन्देशमा जेलेन्स्कीले भने, ‘‘स्वतन्त्रता र आफ्नो चाहनाअनुसार जीवन बाँच्ने सम्भावना हाम्रा लागि कति महत्वपूर्ण छ भन्ने उनीहरूलाई थाहा थिएन ।’
उनले युक्रेनी नागरिकलाई पनि बधाइ दिए । ‘५० दिनसम्म हाम्रो रक्षा उपलब्धि हो । दशौँ लाख युक्रेनीको उपलब्धि हो ।’
गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथिको आक्रमणलाई जारी राखेको छ । पछिल्लो समय रुसी आक्रमणको प्रमुख निशानामा पूर्वी एवम् दक्षिणी युक्रेन रहेको बताइएको छ ।
खार्किभमा ५ सयभन्दा बढी मारिए
गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् ।
सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् ।
उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष मानिसहरूको जनसंख्या हो, हामी कुनै पनि जीवनका लागि माफ गर्नेछैनौँ ।’ गभर्नर सनेगुबोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यद्यपि उनको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको जनाइएको छ ।
रुसको सीमाबाट केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभमा युद्ध शुरु हुनुअघि १५ लाख मानिसहरूको बसोबास रहेको बीबीसीले जनाएको छ ।
पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी
पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।
बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी फौजको दाबी छ ।
यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।
यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ ।
पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ ।
जो बाइडेन युक्रेन नजाने
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण गर्ने कुनै योजना नरहेको बताएकी हुन् ।
यसअघि अमेरिकी सञ्चारमाध्यममा राष्ट्रपति बाइडेनको प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउन लागेको समाचार सार्वजनिक भएको थियो ।
उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको थियो ।
‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल पोलिटिकोका लागि ह्वाइट हाउसका संवाददाता युजिन डानियल्सले जनाएका छन् । ‘पोड सेभ अमेरिका’ नामक पोडकाष्टमा उनले यस्तो जानकारी दिएको ट्विटरमार्फत डानियल्सले जनाए ।
रुसी आक्रमणका बावजुद विभिन्न मुलुकका शीर्ष नेताहरुले पछिल्लो समय युक्रेनको भ्रमणलाई तीव्र बनाएका छन् । बुधबारमात्र पोल्याण्ड, लिथुएनिया, इस्टोनिया र लात्भियाका राष्ट्रपतिहरूले युक्रेनको राजधानी किभको भ्रमण गरी युक्रेनी समकक्षी जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।
युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी दाबी
युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ ।
उत्तरपूर्वी युक्रेनमा गरिएको आक्रमणका क्रममा ३० पोलिश भाडाका सैनिक मारिएको रुसी रक्षामन्त्रालयले जनाएको हो ।
युक्रेनको दोश्रो ठूलो शहर खारकिभ नजिकै पर्ने इजियुम्स्कोये क्षेत्रमा गरिएको आक्रमणमा उनीहरु मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।
रुसका अनुसार सो गाउँमा रुसको रणनीतिक रकेट बलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उत्तर कोरियाली ह्याकरहरूले एकैपटकमा ६२ करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा
उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ ।
अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरूका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए ।
यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याक भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो ।
सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्दै आएको छ ।
उत्तर कोरियाले गत महिनामात्रै चार वर्षपछि पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
क्रिप्टोकरेन्सीको निगरानी गर्दै आएको चेनएनलाइसिस नामक श्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार पछिल्ला केही वर्षयता लजारस ग्रुपले साइबर आक्रमणमार्फत अनुमानित १ अर्ब ७५ करोड बराबरको डिजिटल मुद्रा चोरी गरिसकेको छ ।
अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोलीको कार दुर्घटनाग्रस्त
चुनावी प्रचार अभियानमा रहेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनको सुरक्षा टोली कार दुर्घटनामा परेको छ । अष्ट्रेलियाको तास्मानिया टापुमा चुनावी अभियानका क्रममा प्रधानमन्त्रीको सुरक्षा टोलीको कार दुर्घटनामा परेको हो ।
पछाडिबाट आइरहेको अर्को गाडीले कारलाई ठक्कर दिएको जनाइएको छ । दुर्घटनाका क्रममा चार प्रहरी घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घाइते हुनेमा तास्मानिया राज्यका प्रहरी बलका दुई र अष्ट्रेलियाको संघीय प्रहरीका दुई जना छन् । दुर्घटनाका बेला प्रधानमन्त्री भने उक्त कारमा नरहेको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै घाइतेका परिवारलाई दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ । आफ्नो सुरक्षा टोलीको कार दुर्घटनामा परेपछि प्रधानमन्त्री मोरिसनले उक्त चुनावी प्रचार कार्यक्रम स्थगित गरेका थिए ।
अष्ट्रेलियामा आगामी २१ मे मा संघीय निर्वाचन हुँदैछ ।
समुद्री गस्तीका लागि चीनद्वारा अत्याधुनिक जे–२० लडाकु विमान तैनाथ
चीनले समुद्रमा गस्तीका लागि भन्दै अत्याधुनिक जे २० लडाकु विमान परिचालन गरेको । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले ‘चीनको हवाई सुरक्षा तथा सामुद्रिक हितको रक्षा गर्न’ जे २० लडाकु विमान परिचालन गरिएको जनाएको हो ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार जे २० लडाकु विमानलाई पूर्वी तथा दक्षिण चीन सागरमा तैनाथ गरिएको छ । दुबै समुद्री क्षेत्रमा विभिन्न मुलुकहरूसँग सार्वभौमिकताको विवाद छ ।
यता जे २० निर्माता कम्पनीका प्रवक्ता रेन युकुनले भने ‘नियमित तालिम’ का क्रममा लडाकु विमान परिचालन गरिएको बताएका छन् ।
यसअघि रुसी इन्जिन जडान गरिएको जे २० लडाकु विमानमा पछिल्लो समय भने चीनमै निर्मित इन्जिन प्रयोग हुने गरेको सीएनएनले जनाएको छ ।
केही साताअघि अमेरिकी सेनाको प्रशान्त क्षेत्र वायुसेना बलका कमाण्डर जनरल केनेथ विल्सबाकले चीनको जे २० विमान पूर्वी चीन सागरमा अत्याधुनिक अमेरिकी लडाकु विमान एफ ३५ को सामुन्ने आएको जानकारी दिएका थिए ।