बलिउड/हलिउड

दोस्रो प्रयासमा सफल भएकी माधुरी 

By खबरहब

May 15, 2022

काठमाडौँ– सन् १९६७ को मे १५ मा महाराष्ट्रमा जन्मिएकी माधुरी दीक्षित अहिले परिचित नाम बनिसकेकी छिन् । बलिउडमा ‘धकधक गर्ल’ भनेर समेत चिनिने माधुरीले आज ५४ वर्ष पुरा गरेर ५५ वर्षमा प्रवेश गरेकी छिन् । अहिले पनि उनको सुन्दरताको चर्चा उत्तिकै हुने गर्छ । यी सुन्दरी पछिल्लो समय फिल्मसँगै वेब सिरिजमा समेत अभिनय गरिरहेकी छिन् । माधुरीलाई नृत्यमा निपुण पनि भनिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’ को गीत ‘एक दो तिन चार पाँच छे’ मार्फत स्थापित भएकी माधुरीको सुन्दरतासँगै सक्रियता को पनि चर्चा हुने गर्छ ।

स्कुल र कजेल लाइफमा कहिले कँही स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोगी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षामै ‘अबोध’ नामक फिल्म अफर भयो । तर, उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएनन् । यसैबीच एकपटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले गर्‍यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी सपरिवार भेट्न पुग्यौँ’ माधुरीले भनिन् ।

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्यपि ‘अबोध’ फिल्म सफल हुन् सकेन, नत माधुरीलाई चिनाउनै सक्यो । उनलाई चिनाउने गीत ‘तेजाब’ कै एक दो तीन थियो । त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै राम्रो लागेको थिएन ।

‘सबैलाई गीत मन परेको थियो । यद्यपि म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिए’ माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भएपनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैंले क्यामेरासँग फ्रेन्डली हुन् सिकेँ’ उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्म मार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढिन् । यही रफ्तार अहिलेसम्म कायम छ । उनले फिल्म , विज्ञापन , टेलिभिजन शो र वेब सिरिजमा समय दिइरहेकी छिन् । केही समय अभिनयबाट टाढिएकी माधुरीको बढ्दो सक्रियताले उनको फ्यान पनि उत्साहित छन् । 

उनले टेलिभिजनमा रियालिटी शो मार्फत आफ्नो अनुभव साट्ने गरेकी छिन् ।